एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिड विजयी भएको छ ।
शनिबार साँझ सम्पन्न खेलमा मड्रिडले घरेलु टोली इल्चेमाथि १-० गोलको कठिन जित निकालेको हो । पाहुना टोली मड्रिडको जितमा मार्कोस लोरिनले गरेको गोल नै मड्रिडको जितमा निर्णयक बन्यो ।
जारी खेलको २२औं मिनेटमा मड्रिडका लागि मार्कोसले गोल गरि खेलमा १-० गोलको अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता बनाएको मड्रिडले दोस्रो हाफमा पनि केही सुनौलो अवसर सिर्जना गरेको थियो । तर थप गोल भने गर्न सकेन ।
त्यस्तै यता घरेलु टोलीले खेलको अतिरिक्त समयमा गोल गर्दै खेल बराबरी अबस्थामा फर्काउन अवसर पाएको थियोे । अतिरिक्त समयको दोस्रो मिनेटमा घरेलु टोलीले पेनाल्टीको अवसर पाएको थियो । तर उक्त पेनाल्टीमा फिडेल चाभेज चुक्दा खेलमा बराबरी गर्न बाट बञ्चित बन्यो ।
त्यस्तै उक्त जित सँगै मड्रिडले शीर्ष स्थानमा स्पष्ट ५ अंकको अग्रता बनाएको छ । उसको ३४ खेलबाट ७६ अंक पुगेको छ । मड्रिड विजयी भए सँगै उपाधि होडमा निकै रोचक बनेको छ । दोस्रो स्थानको रियल र तेस्रो स्थानको बार्सिलोनाको ३३ खेलबाट ७१/७१ अंक रहेको छ । त्यस्तै यता चौथो स्थानको सेभिल्लाको ३३ खेलबाट ७० अंक रहेको छ ।
यता रियलले आज राति ओसासुनाको सामना गर्दैछ । उक्त खेल १२:४५ बजेबाट रियलको मैदानमा हुनेछ ।