काठमाडौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको जीवन रक्षा यति बेला सरकारको सर्वाधिक प्राथमिकता रहेको भन्दै कोभिड–१९ विरुद्धको अभियानमा साथ दिन सबैलाई अनुरोध गरेका छन्।
कारोनाको दोस्रो लहरबाट हुने क्षतिलाई न्यूनीकरण र रोकथाम गर्न सरकारले सबै प्रयत्न जारी राखेको भन्दै अर्थमन्त्री पौडेलले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सबैलाई आग्रह गरेका हुन् । कोरोनाका बिरामीको परीक्षण र उपचार सरकारको प्राथमिकतामा छन् ।
विषम परिस्थितमा अघिल्लो पटक कोरोनाका बेलाका सिकाइहरूलाई समेत आधार मान्दै अघि बढेका छौँ, नेपाल आर्थिक पत्रकार समाजले आर्थिक वर्ष २०७८७९ बजेट सम्बन्धी दिएको सुझावपछि अर्थमन्त्री पौडेलले भने “सबैको साथ र सहयोगले कोरोनाविरुद्धको लडाई जित्नुको विकल्प हामीसँग छैन” वातावरण सहज पार्न र पूर्वाधारहरू बढाउन प्रदेश सरकार र स्थानीय तहसँग पनि थप समन्वय भइरहेको जानकारी दिँदै जनशक्ति परिचालनमा पनि ध्यान दिएको बताए ।
जनताको स्वास्थ्यलाई ध्यान दिएर नै यसअघि छिमेकी मुलुक भारत र चीनबाट कोरोनाविरुद्धको खोप ल्याइ नागरिकहरूलाई लगाइएको भन्दै अर्थमन्त्री पौडेलले थप खोप ल्याउनका लागि पनि पहल जारी रहेको जानकारी गराए ।
साथै कोरोनाको पहिलो लहरबाट क्षति पुगेको अर्थतन्त्र पुन उत्थानकै क्रममा रहेका बेला दोस्रो लहरले अर्थतन्त्रमा पुन असर पार्ने बताउँदै अर्थमन्त्री पौडेलले पहिले जनताको जीवन रक्षा र त्यसपछि अन्य विषयमा ध्यान केन्द्रित हुने बताए । जनताको जीवन रक्षाका लागि नै ठाउँ–ठाउँमा निषेधाज्ञा जारी गर्नु परेको बताउदै अर्थमन्त्री पौडेलले सावधानी अपनाउन, स्वास्थ्य मापदण्ड र निर्णयहरुलाई पालना गर्न सबैलाई आग्रह गरे ।