नेपालमा वित्तीय क्षेत्रलाई तुलनात्मक रुपमा पारदर्शी मानिन्छ । वित्तीय प्रणालीमा वाणिज्य बैंकको भूमिका महत्वपूर्ण रहन्छ । बाणिज्य बैंकको कमान्ड सम्हाल्ने प्रमुख कार्यकारी अधिकृतहरुले के कति पारिश्रमिक लिन्छन् ? सधैं नै चासोको विषय रहने गरेको छ । मेरो लगानीले गत हप्ता साधारण सभा सम्पन्न गरेका केही वाणिज्य बैंकका प्रमुखहरुले गत आवमा के कति पारिश्रमिक प्राप्त गरे सुचीबद्ध गरेको छ ।
बैंक अफ काठमाण्डौ
बैंक अफ काठमाण्डौ गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिृकत (सीईओ)लाई १ करोड २७ लाख ८५ हजार २७४ रुपैयाँ पारिश्रमिक दिएको छ । सोहनदेव पन्तको कार्यकाल सकिएपछि बैंकको कमान्ड अहिले श्रवणलाल मास्केले हाँकिरहेका छन् । २०७८ कात्तिकमा मास्के बैंकको सीइओ नियुक्त भएका थिए । बैंकले आर्थिक वर्ष २०७८÷०७९ मा उक्त रकम सीईओलाई सञ्चय कोष, औषधी उपचार, सवारी साधन सुविधा, मोबाइल फोनको भुक्तानीसहित उक्त रकम तलब भत्ता दिएको जनाएको छ । बैंकले सीइओ बाहेकका अन्य उच्च पदाधिकारीलाई तलब भत्ता बापत १७ करोड २ लाख ५७ हजार ३६३ रुपैयाँ भुक्तानी गरेको छ । बैंकका अध्यक्षले प्रति भत्ता बापत १६ हजार र सञ्चालकले १४ हजार रुपैयाँ भत्ता लिएका छन् । बैंक अफ काठमाण्डू र ग्लोबल आईएमई बैंक अहिले मर्जरको प्रक्रियामा रहेका छन् ।
एभरेष्ट बैंक
बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार एभरेष्ट बैंकका सीईओ गजेन्द्रकुमार नेगीसहित उच्च तीन व्यवस्थापकले गत आर्थिक वर्षमा ३ करोड ५९ लाख ८ हजार २ सय ४३ रुपैयाँ बुझेका छन् । एभरेष्ट बैंकमा भारतीय बैंक पञ्जाव नेशनल बैंकको लगानी छ। हाल बैंकमा नेपाली नागरिक सुदेश खालिङ सीइओ छन् । उनी भन्दा अगाडि भारतीय नागरिकलाई नै सीइओ बनाएर पठाइन्थ्यो । गत वर्ष बैंकले उच्च व्यवस्थापकलाई सयुक्त रुपमा ३ करोड ७० लाख ३१ हजार ४ सय ८४ रुपैयाँ पारिश्रमिक स्वरुप भुक्तानी गरेको थियो ।
मेगा बैंक
मेगा बैंकले प्रमुख कार्यकारी अधिकृत ९सीईओ० लाई गत आर्थिक वर्षमा १ करोड ७४ लाख ९८ हजार ९ सय ६८ रुपैयाँ तलब भत्ता दिएको छ । बैंकले तलबबापत १ करोड ४९ हजार ७ सय ६६ रुपैयाँ, भत्ता बापत १९ लाख ४२ हजार ८ सय ९३ रुपैयाँ, सञ्चय कोष बापत २ लाख ३७ हजार २ सय ३४ रुपैयाँ, बोनस बापत ४० लाख ४३ हजार ६ सय ९८ रुपैयाँ र इन्धन बापत ३ लाख ७५ हजार ३ सय ७५ रुपैयाँ भुक्तानी गरेको छ ।
मेगा बैंक अहिले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रियामा छ । बैंकका निवर्तमान सीइओ अनुपमा खुञ्जेलीको कार्यकाल २०७८ चैत्र मसान्तमा सकेको थियो भने हाल कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रवीना देशराज श्रेष्ठलाई दिइएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले एक वर्षमा ४ करोड ८१ लाख १० हजार रुपैयाँ पारिश्रमिक बुझेका छन् । पाण्डेले आर्थिक वर्ष २०७८÷७९ मा तलब बापत १ करोड ६० लाख ७६ हजार, भत्ता १ करोड ७ लाख १७ हजार, दशैं भत्ता २२ लाख ३२ हजार ७ सय, सञ्चय कोष बापत १६ लाख ८ हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यसैगरी बोनसस्वरुप १ करोड ६९ हजार ४ हजथार ५ सय ६० रुपैयाँ र लिभ इन्क्यासमेन्टबापत् ५ लाख ७२ हजार ५ सय ७२ रुपैयाँ प्राप्त गरेका छन् ।
पाण्डेले पानी, बिजुली र टेलिफोनको महशुल बिल अनुसार भुक्तानी पाउने गरेका छन् । उनलाई बैंकले सवारी चालक, इन्धन तथा मर्मत सहित सवारी साधान दिएको छ । बैंकले सीईओका लागि तीन जना सुरक्षा गार्डको समेत व्यवस्था गरेको छ ।
सानिमा बैंक
सानिमा बैंकले प्रमुख कार्यकारी अधिकृतलाई गत आवमा २ करोड १४ लाख ६ हजार रुपैयाँ पारिश्रमिक दिएको छ । बैंकले सीइओ बाहेकका अन्य प्रमुख व्यवस्थापकहरुलाई ४ करोड ६१ लाख १ हजार रुपैयाँ भुक्तानी गरेको छ । बैक निवर्तमान सीइओ भुवन दाहालको कार्यकाल २०७८ साल माघ ११ गते सकिएको थियो । दाहालको कार्यकाल सकिएपछि बैंकले निश्चलराज पाण्डेलाई सीइओको नियुक्ति दिएको थियो ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत अरबिन्द घोष दस्तिदारले गत आर्थिक वर्ष ३ करोड २१ लाख ९४ हजार ५ सय ७५ रुपैयाँ तलब भत्ता प्राप्त गरेका छन् । अघिल्लो वर्ष बैंकले सीइओलाई २ करोड ७६ लाख २२ हजार रुपैयाँ तलब सुविधा दिएको थियो ।