काठमाडौँ – काठमाडौँ महानगरपालिकाले गृह मन्त्रालयलाई अनाधिकृत संरचना हटाउन सहयोग मागेको छ । महानगरले बिहीवार एक पत्र लेख्दै मन्त्रालयलाई बागमती नदी खण्डको थापाथलीमा रहेका अनधिकृत संरचना हटाउन सहयोग र समन्वयका लागि आग्रह गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी हस्ताक्षर गरेको सो पत्रमा अनधिकृत संरचना हटाएर तत्काल सौन्दर्यीकरणको काम अगाडि बढाउने कुरा उल्लेख छ ।
थापाथलीमा रहेका अनधिकृत संरचना हटाउन महानगरले पटक पटक प्रयास गर्दै आएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट अनुरोध आएपछि महानगरले मन्त्रालयलाई सहकार्यका लागि मद्दत मागेको हो ।
अहिलेसम्म संरचना हटाउने काम सफल हुन हुन सकेको अवस्था नभएको भन्दै पत्रमा भनिएको छ, ‘यस कार्यलाई अभियानकै रुपमा अगाडि बढाउनु पर्ने भएकोले सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई निर्देशन समन्वय हुन अनुरोध गरिन्छ ।’