काठमाडौँ – एसियन हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ।
कम्पनीको आइपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले आज पुस १९ गते मंगलबार कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्।
हाइड्रोपावरले मंसिर २७ गतेदेखि इलाम जिल्लाको आयोजना प्रभावित क्षेत्रका स्थानीयहरु र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आइपीओ बिक्री खुला गरेको हो।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुबाट भने पुस १२ गतेपछि आवेदन लिन बन्द गरिएको थियो। हाइड्रोपवारले स्थानीयलाई १०० रुपैयाँ अंकित मूल्यमा ३ लाख ४० हजार कित्ता सेयर निष्कासन गरेको हो।
यसमा आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं १०, माई जोगमाई गाउँपालिका वडा नं ३ र ४ तथा सूर्योदय नगरपालिका वडा ११ का स्थानीय बासिन्दाहरुका लागि ४०५ अर्थात १ लाख ३६ हजार कित्ता र आयोजना अति प्रभावित क्षेत्र बाहेकको इलाम जिल्लाका अन्य क्षेत्रहरुमा बसोबास गर्ने बासिन्दाहरुका लागि बाँकी ६०५ अर्थात २ लाख ४ हजार कित्ता सेयर छुट्याइएको छ।
स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। रेटिङ एजेन्सी केयर रेटिङ नेपालले एसियनलाई केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ।
जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ। यो आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
स्थानीय बासिन्दाले एनएमबि बैंक इलाम शाखा, सिभिल बैंक माइजोगमाई शाखा, प्राइम कमर्सियल बैंक बिब्लाटे शाखा, ग्लोबल आइएमई बैंक सूर्योदय (फिक्कल) शाखा तथा बिक्री प्रबन्धले तोकेको बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्।