एजेन्सी । युरोपको सर्वाधिक ठूलो क्लब फुबटल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको जारी सिजन २०२०/२१ मा इंग्लिस फुटबल क्लब म्यान्चेस्टर सिटी फाइनलमा प्रवेश गरेको छ ।
बुधबार बिहान सम्पन्न खेलमा पाहुना टोली पिएसजीमाथि २-० गोलको शानदार जित , र समग्रमा ४-१ गोलको जित सँग सिटी आफ्नो क्लब फुटबलको इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो ।
साविकको उपविजेता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई हराउन इंग्लिस फुटबल क्लब म्यानचेस्टरका लागि दुवै गोल विंगर रियाद माहरेजले गरे । उनले दुवै हाफमा समान १/१ गोल गरेका थिए ।
जारी खेलको ११औं मिनेटमा घरेलु टोली सिटीका लागि माहरेजले गोल गरि पहिलो हाफभरि १-० गोलको अग्रता दिलाएका थिए ।
त्यस्तै दोस्रो हाफको खेलको ६३औं मिनेटमा सिटीका लागि माहरेजले पुनः दोस्रो गोल गरि २-० गोलको अग्रता दिलाए । र ६९औं मिनेटमा यता पाहुना टोली पिएसजीका एन्जल डी मारियाले रातो कार्ड प्राप्त गरेपछि पिएसजी १० खेलाडीमा समेटिएको थियोे । र बाँकी समय थप गोल नहुदा सिटी २-० गोलले विजयी भयो ।
उक्त जित सँगै सिटी उपाधि नजिक पुगेको छ । उसले अब फाइनलमा चेल्सी र रियल मड्रिडबीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।