बैशाख २२, २०७८ बुधबार

एजेन्सी । कोरोना भाइरस महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ७८० जनाको मृत्यु भएको छ । बुधबार बिहान सार्वजनिक विवरणमा भारतमा कोरोनाबाट कूल संक्रमितको संख्या २ करोड ७ लाख पुगेको उल्लेख छ ।

गत मे १ तारिखमा ४ लाख कोरोना संक्रमित देखिए पनि पछिल्ला २ दिनमा यो संख्यामा केही कमी आएको देखिएको केन्द्रीय परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कारोनाबाट संक्रमितको संख्या ३ लाख ५७ हजार रहेको भेटिएको छ ।

सरकारी विवरणमा कोरोनाबाट हाल ३४ लाख ८७ हजार व्यक्ति संक्रमित अवस्थामा रहेका छन् । साथै पछिल्लो २४ घण्टामा ३ लाख ३८ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । योसहित भारतमा हालसम्म १ करोड ७० लाख व्यक्ति संक्रमणमुक्त भएका छन् ।

कोरोनाभाइरस संक्रमणबाट हालसम्म भारतमा २ लाख २६ हजार १८८ जनाको ज्यान गइसकेको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार देशभर २९ करोड ४८ लाख ५२ हजार नमूना परीक्षण गरिएको छ । मङ्गलबार एकै दिन १५ लाख ४१ हजार नमूना परीक्षण गरिएको पनि परिषदले जनाएको छ ।

कोरोना संक्रमितको दैनिक मृत्यु बढेसँगै भारत सरकारले कोरोनाको खोप अभियानलाई पनि तिब्र बनाएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म १६ करोड ५ लाख व्यक्तिलाई खोप दिइसकिएको छ । कोरोना तिब्र संक्रमण र मृत्युका कारण भारतको स्वास्थ्य पूर्वाधारमा ठूलो चाप देखिएको छ भने अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने स्वास्थ्यकर्मीहरुमाथि ठूलो चुनौती देखा परेको छ ।