काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) धनगढी एफसी शीर्ष स्थानमा उक्लिएको छ ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पोखरा थण्डर्सलाई १-० गोल अन्तरले हराउँदै धनगढी शीर्ष स्थानमा उक्लिएको हो । धनगढीलाई जित दिलाउन दर्शन गुरुङले निर्णायक गोल गरे ।
निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रोमा मैदान छिरेका दर्शनले ६८औं मिनेटमा गोल गर्दै धनगढीलाई १–० को जित दिलाएका हुन् ।
उक्त जित सँगै धनगढी प्लेअफमा पुगेको छ ।धनगढीले ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा उक्लदै शीर्ष चारमा स्थान पक्का गरेको छ । यता पराजित पोखराको ५ खेलबाट ५ अंक छ । समान ७ अंक रहँदा विराटनगर सिटी एफसी दोस्रो तथा काठमाडौं रेजर्स तेस्रो स्थानमा रहेको छ ।