बैशाख २२, २०७८ बुधबार

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा उपचारमा प्रभावकारी कदम चालेको जनाएको छ । महानगरभित्रका कुनै पनि संक्रमित बिरामीलाई अस्पतालसम्म ल्याउन महानगरले व्यवस्था गरेको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले कोरोना रोकथाम र उपचारको लागि महानगर प्रमुख नेतृत्वमा समिति गठन गरी २९ वटै वडामा वडा अध्यक्षको संयोजकत्वमा सर्वपक्षीय समिति गठन गरिएको बताइन् । 

उनले  कोरोनाका लक्षण देखिएकाहरुलाई स्वास्थ्यकर्मीको सम्पर्कमा राखिएको र आवश्यक परेका बिरामीहरूलाई अस्पतालसम्म ल्याउने व्यवस्था गरेको बताइन् ।

स्वास्थ्य विज्ञहरू स्वास्थ्य संस्था प्रमुखहरु र स्थानीय प्रशासनसँग जोखिम न्यूनिकरण र प्रभावकारी उपचारका लागि समन्वय गरी महानगर अगाडि बढेको छ । प्रमुख दाहालले हरेक टोल टोलमा माइकिङ मार्फत सचेतना कार्यक्रम गरिएको बताइन् ।

दाहालका अनुसार बिरामीहरूलाई समयमै अस्पतालको पहुँच पुर्याउन हाललाई २ वटा एम्बुलेन्स स्टाण्डवाई राखिएको र जानकारी पाउन साथ बिरामीलाई अस्पतालमा ल्याउने व्यवस्था मिलाइएको छ। भरतपुर महानगर उपप्रमुख पार्वती शाहले स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञालाई सफल पार्न समन्वय गरिएको बताइन् । 

साथै महानगरभित्रका संक्रमितहरुको तथ्याङ्क अभिलेख नियमित गरी प्रतिवेदन तयार गरिएको बताइन् । भरतपुर केन्द्रिय अस्पताल मेडिकल कलेजहरू, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा महानगरभित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरूसँग समन्वय गरी संक्रमितहरुको उपचारका लागि प्रभावकारी ढङ्गले अगाडि बढिरहेको प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिए । 

उनले भरतपुर महानगर माहतहतका सम्पूर्ण स्वास्थ्य केन्द्रहरू नियमित सञ्चालन गरी स्वास्थ्यकर्मीहरूलाई कोभिड रोग नियन्त्रण, व्यवस्थापन तथा उपचारका लागि परिचालन गरिएको बताए ।