बैशाख २४, २०७८ शुक्रबार

काठमाडौँ । टोखा नगरपालिकामा अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै आजदेखि अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको हो ।

नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले वडा नं २ स्थित टोखा प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहित १५ शय्याको आइसोलेशन सेन्टर निर्माण गरिएको जानकारी दिए ।

‘डाक्टर र औषधसहित निर्माण गरिएको आइसोलेशन केन्द्रमा आजैदेखि टोखाका कोरोना सङ्क्रमित बिरामीको उपचार हुनेछ’, उनले भने । बिरामीको अवस्था हेरेर उक्त स्वास्थ्य केन्द्रमा ५० शय्याको आइसोलेशन केन्द्र निर्माण गरिने उपप्रमुख डङ्गोलको भनाइ छ ।

नगरपालिकाले नगर उपप्रमुख डङ्गोलको संयोजकत्वमा आइसोलेशन सेन्टर व्यवस्थापन तथा अनुगमन समिति निर्माण गरी कोभिडका बिरामीको उपचारका लागि सम्भावित स्थानको अध्ययन गरिरहेको छ । यस्तै नपाले बढ्दो कोरोना सङ्क्रमितलाई ध्यानमा राखेर अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र निर्माण गर्न लागेको छ ।

नगरपालिकाले कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)सँगको सहकार्यमा नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएसँगै वडा नं ७ स्थित राधा स्वामी भवनभित्र अक्सिजन थेरापीका लागि आइसोलेशन केन्द्र स्थापना गर्न लागेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।