माघ ४, २०७९ बुधबार

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले लिएको नीति अनुसार बैंक तथा वित्तीय संस्था एकआपसमा गाभिने अर्थात् मर्ज हुने क्रम बढेको छ । केही ठूला बैंकहरु मर्ज भएर संयुक्त कारोबार थालिसकेका छन् भने केही हुने क्रममा छन् । पछिल्ला दिनमा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक, प्रभु बैंक र सेन्चुरी कमर्शियल बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डौ, कुमारी र एनसीसी बैंक मर्ज भएका छन् । त्यस्तै हिमालय र सिभिल बैंक, लक्ष्मी बैंक र सनराइज बैंक पनि एकअर्कासँग मर्ज हुने क्रममा छन् । 

सरकार र नियमनकारी निकायले प्रोत्साहन गर्ने अनि बजारमा पनि मर्जर आवश्यकता देखिएकाले अहिले मर्जरको लहर देखिएको हो । तर यसरी बैंकहरु मर्जर हुँदा एक–अर्का बैंकमा रहेका खाता, ऋण र सेयर तथा डिम्याट एकाउन्ट के हुन्छ भन्ने जस्ता जिज्ञासा बढेका छन् । यसै विषयमा नविल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीको भनाइ यस्तो छ स्

बैंक तथा वित्तीय संस्था मर्जर हुँदा सामान्यतया ग्राहकले पाउने सेवा सुविधा घट्ने भन्ने हुँदैन । कहिलेकाहीँ अलि ठूलो बचतकर्तालाई भैरहेको संस्था अर्को नराम्रो वा खराब संस्थासँग मर्ज हुन थाल्यो भने केही समस्या हुन सक्छ । तर अहिले भैरहेको बैंकहरुको मर्जरमा त्यसरी समस्याग्रस्त भएको कुनै पनि नदेखिएकाले सेवाग्राही आत्तिनु पर्दैन ।

बैंक खाता के हुन्छ ?
राष्ट्र बैंकको नीति अनुसार एउटै व्यक्तिले एउटै बैंकमा दुई वटा खाता खोल्न पाउँदैन । त्यसअनुसार मर्ज हुनुअघि एउटा व्यक्तिको खाता ती दुई वटा बैंकमा छ भने मर्जपछि एउटा खाता बन्द गर्न र अर्को खातालाई सञ्चालन गर्न दिइने हुन्छ । कुनै प्रयोगकर्ताको दुवै बैंकमा खाता भएको खण्डमा कुनै एक खातालाई बन्द गराइन्छ । मर्जरपछि बैंक खातामा कुनै पनि समस्या हुँदैन । पहिलाको चेक चल्छ र कुनै कुनै अवस्थामा एकाउन्ट नम्बर सामान्य हेरफेर हुन सक्छ । खाता नम्बर परिवर्तन हुने अवस्थामा ग्राहकले जानकारी राख्नुपर्छ ।

पहिले नै प्रयोग भइरहेको डेभिट कार्ड तत्कालका लागि परिवर्तन हुँदैन अर्थात् गरिंदैन । विस्तारै प्रक्रियाअनुसार त्यसलाई परिवर्तन गरिन्छ । कार्डको म्याद सकिएपछि खाताबहाकले नयाँ कार्डको लागि भनेपछि मात्रै नयाँ कार्ड वा नयाँ चेक आउँछ ।

मुद्दती खाता र कर्जाको हकमा
मुद्दती खाता र कर्जाको हकमा पनि समस्या हुँदैन । उदाहरणका लागि तपाईंले कुनै १० वर्षे मुद्दती निक्षेप राख्नुभएको थियो भने त्यही नै चल्छ । मर्जरका कारण राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी कर्जा प्रवाह गरेको हकमा त्यसलाई सीमाभित्र ल्याउन समय दिएको छ । 

कुनै सेवाग्राहीले दुवै बैंक खाताबाट ऋण लिएको छ भने त्यो सेवाग्राहीसँग छलफल गरी ऋणको सीमाभित्र ल्याउन थप प्रकृया अघि बढ्ने हुन्छ । दुवै बैंकबाट ऋण लिएको अवस्थामा व्यक्तिको धितो के छ र आम्दानी कस्तो छ रु लगायतका विषयलाई मूल्यांकन गरेर ऋणलाई मर्ज गरेर लैजाने वा कुनै एक बैंकको ऋणलाई अन्त्य गर्ने प्रक्रिया हुन्छ ।

डिम्याट एकाउन्टको हकमा
सेवाग्राहीले सेयर कारोबारका लागि कुनै एक बैंकबाट डिम्याट एकाउन्ट खोलेको छ भने तत्काललाई त्यही चल्ने र विस्तारै थप अपडेट हुन्छ । डिम्याटलाई रिन्यू गर्ने समयमा यसलाई अपडेट गरिने हुन्छ । उदाहरणका लागि कसैले बैंक अफ काठमाण्डूबाट डिम्याट खाता खोलेको छ भने त्यसमा पनि ग्लोबल बैंक नै हुन्छ । पहिलाको एकाउन्ट बैंक अफ काठमाण्डूबाट मर्जपछि अब बैंक अफ काठमाण्डूको ठाउँमा ग्लोबल आईएमई बैंक हुन्छ । एकाउन्ट नम्बर परिवर्तन हुन्छ । 

अहिले एकीकृत कारोबार सुरु गरेका बैंकहरूले नयाँ एप पनि अद्यावधिक गरेका छन् र यसबारेमा ग्राहकलाई सूचना गरेका छन् । मर्जपछिका अन्योलबारे सेवाग्राहीले आफ्नो पायक पर्ने ती बैंकका शाखामा गएर परामर्श पनि गर्न सक्छन् । आवश्यक विषयहरु बैंक आफैंले पनि सेवाग्राहीलाई सम्पर्क गरेर जानकारी दिने गरेका छन् ।