एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड सेभिल्लासँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियल र सेभिल्लाले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।
रियलको घरेलु मैदानमा सेभिल्लाका लागि फर्नान्डो र इभान राकिटिकले एक–एक गोल गरे भने रियलका मार्को एसेन्सियो र इडेन हाजार्डले समान एक गोल गरे । खेलमा घरेलु टोलीमाथि पाहुना टोली सेभिल्लाले अग्रता दिलाएका थिए । सेभिल्लाको लागि फर्नान्डोले खेलको २२औं मिनेटमा गोल गदै अग्रता दिलाएका थियो । पहिलो हाफमा १-० गोलले पछि परेको रिलका लागि दोस्रो हाफको खेलको ६७औं मिनेटमा एसेन्सियोले गोल गरेपछि रियल खेलमा फर्कियो ।
त्यस्तै जारी खेलको ७८औं मिनेटमा राकिटिकले पेनाल्टीमा गोल गर्दै पुनः सेभिल्लालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्ज्युरी समयमा हाजार्डले गोल गरेपछि रियल सम्भावित हारबाट जोगियो ।
उक्त बराबरीसँगै रियल बार्सिलोनालाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको छ । रियलले ३५ खेलबाट ७५ अङ्क जोडेको छ । समान अङ्क भएको बार्सिलोना तेस्रो स्थानमा छ । यता शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडसँग ७७ अङ्क छ । रियल बराबरीमा रोकिँदा एथ्लेटिकोलाई फाइदा पुगेको छ । ऊ उपाधि होडमा झन बलियो बनेको छ ।
सेभिल्ला भने ७१ अङ्कका साथ चौथो स्थानमा छ ।