बैशाख २८, २०७८ मंगलबार

सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को सिफारिसमा हालै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी रेल्वेसम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशका दफा १८ मा रेलचालक वा सहचालकको योग्यताबारे व्यवस्था गरिएको छ ।

सो नियमअनुसार चालक अनुमतिपत्र पाउन मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान विषय लिई कम्तीमा माध्यमिक तह उत्तीर्ण वा मेकानिकल वा अटोमोबाइल विषयमा कम्तीमा डिप्लोमा उत्तीर्ण गरेको हुनुपर्नेछ । दफा १८ को ‘ख’ मा मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट रेल चालकको तालिम चलाउन योग्य प्रमाणपत्र प्राप्त हुनुपर्ने व्यवस्था गरिएको उल्लेख छ ।