काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएलमा) धनगढी एफसी फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो प्लेअफमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै धनगढी फाइनल प्रवेश गरेको हो ।
धनगढीलाई जित दिलाउन पुजन उपरकोटी र विशाल राईले १/१ गोल गरे । यता काठमाडौंका तेज तामाङले १ गोल फर्काए ।
खेलमा सुरुवाती अग्रता भने काठमाडौंले बनाएको थियो । उसका लागि दोस्रो हाफको खेलको ७५ औं मिनेटमा तेज तामाङले गोल गर्दै १-० को अग्रता दिलाएका थिए । तर, खेलको ७८ औं मिनेटमा पुजन उपरकोटीको गोलबाट धनगढीले बराबरी गोल फर्काएको थियो । त्यस पछि खेलको निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
अतिरिक्त समयमा धनगढीका मार्की खेलाडी विशालले खेलको १ सय ८ औं मिनेटमा रमेश दंगालको पासमा गोल गर्दै टोलीलाई फाइनलको यात्रा तय गराए ।
धनगढीसँग पराजित काठमाडौंले अब फाइनल प्रवेशको लागि इलिमिनेटर खेल खेल्नेछ । उक्त खेल काठमाडौंले ललितपुर सिटी र बुटवल लुम्बिनी एफसीबीचको विजेतासँग खेल्नेछ । ललितपुर र बुटवलबीचको दोस्रो प्ले अफ बुधबार हुनेछ ।