माघ २०, २०७९ शुक्रबार

दोहा – कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले कुवेतको परराष्ट्र मन्त्रालय कन्सुलर मामिलाका लागि कार्यवाहक सहायक विदेश मन्त्री मेसल इब्राहिम अलमुधाफसँग भेट गरेका छन्।

बिहीबार कुवेतको परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको दुईपक्षीय सहयोगात्मक सम्बन्धको अभिवृद्धि गर्ने बारेमा छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार भेटमा विशेषतः कुवेतमा रहेका नेपाली कामदार, स्थानीय रोजगारीको बजारमा नेपालीहरूको माग र सहज पहुँचको व्यवस्था, हित प्रवर्द्धन तथा कन्सुलर सेवा प्रवाह लगायतका विषयमा पनि कुराकानी भएको छ । भेटका अवसरमा नेपाली दूतावास तथा परराष्ट्र मन्त्रालयका अन्य अधिकारीहरूको पनि उपस्थित थियो ।

यसैगरी, राजदूत भण्डारीले नेपाली हातले बुनेको कार्पेट प्रदर्शनीको अवलोकन गर्दै कुवेतमा नेपाली कार्पेट लगायत नेपाली उत्पादनका सामग्रीको प्रवर्द्धनमा दूतावास, कुवेत स्थानीय व्यापारी समुदायलाई सहयोग र सहजीकरण गर्न सदैव तयार रहेको बताएका थिए ।