माघ २०, २०७९ शुक्रबार

२० माघ काठमाडौँ। स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भ्यालेन्सियामाथि सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा दुई मिनेट अन्तरमा रियलले दुई गोल गरेको थियो ।

मार्को असेन्सियोले ५२ औं र भिनिसियस जुनियरले ५४ औं मिनेटमा गोल गरेका हुन्। यससँगै रियलले भ्यालेन्सियालाई २(० गोल अन्तरले हराएको हो । गाब्रिएल पाउलिस्टाले ७२औं मिनेटमा रातो कार्ड पाएपछि भ्यालेन्सिया दश खेलाडीमा समेटिएको थियो ।

यस जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक दुरी घटाएको छ । दोस्रो स्थानको रियलले १९ खेलबाट ४५ अंक जोडेको छ । भ्यालेन्सिया २० अंक जोडेर १४ औं स्थानमा रहेको छ । बार्सिलोना १९ खेलबाट ५० अंकसहित शीर्ष स्थानमा छ ।