एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लेभान्टेसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।
बुधबार बिहान सम्पन्न खेलमा बार्सिलोना घरेलु टोली लेभान्टेसँग बराबरी खेलेसँगै उपाधि होडबाट करिब करिब बाहिरिएको छ ।
कुनै समय २-० गोलको अग्रता बनाएको बार्सिलोना अग्रता जोगाउन नसक्दा अंक बाँडन बाध्य भएको हो । बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सी, पेड्री र ओस्मान डेम्बेलेले १/१ गोल गरे । यता घरेलु टोली लेभान्टेका मेलेरो मान्जारनेस, जोसे लुइस मोरालेस र सर्जियो लिमोनेसले समान १/१ गोल गरे ।
खेलको २५औँ मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै ३४औँ मिनेटमा पेड्रीले गोल गरेपछि पहिलो हाफभरि बार्सिलोनाले आफ्नो अग्रता दोब्बर बनाएको थियो ।
तर दोस्रो हाफको खेलको ५७औँ मिनेटमा मन्जानरेसले र ५९औँ मिनेटमा मोरालेसले गोल गर्दै लेभान्टेलाई खेल बराबरी अबस्थामा फर्काए । ६४औँ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई पुनः ३-२ गोलको अग्रता दिलाए । तर ८३औँ मिनेटमा लिमोनेसले गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा सकियो ।
उक्त बराबरीसँगै बार्सिलोना उपाधि होडबाट बाहिरिएको हो । अब उसले दुई खेल खेल्न बाँकी छ । कुनै चमत्कार भएमा मात्र उसले उपाधि जित्नेछ । उसले शीर्ष स्थानमा उक्लिने मौका समेत गुमाएको तर ऊ दोस्रो स्थानमा भने उक्लिएको छ । उसले ३६ खेलबाट ७६ अङ्क रहेको छ । शीर्ष स्थानको एथ्लेटिको ३५ खेलबाट ७७ अङ्क छ । यता समना ३५ खेल नै खेलेको रियलसँग ७५ अङ्क छ ।