माघ २०, २०७९ शुक्रबार

चौतारा– प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले  सिन्धुपाल्चोकको जुगलगाउँपालिका-५ चनौटेमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नवनिर्मित रत्नराज्य माध्यमिक विद्यालय भवनको आज उद्घाटन गरेका छन् ।

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सङले नवनिर्मित भवन नेपाल सरकारमार्फत समुदायलाई हस्तान्तरण समेत गरेका थिए । सो समारोहमा  पूर्वसभामुख अग्निप्रसाद सापकोटा, सांसदद्वय माधव सापकोटा र  मोहनबहादुर बस्नेत, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, समीर तामाङ, मसिना खड्का भण्डारी, अमृता नेपाललगायतको सहभागिता रहेको थियो । 

नवनिर्मित विद्यालयको अत्याधुनिक सुविधायुक्त भवन ‘चिनियाँ मोडेल’ का छन् । एकै विद्यालयमा छ आधुनिक भवन निर्माण गरिएको प्रधानाध्यापक टीकादत्त पौडेलले जानकारी दिए । उनका अनुसार भवन निर्माणमा एक अर्बभन्दाबढी रकम लगानी भएको छ ।