काठमाडौं । राजधानी जारी पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज फुटबल प्रतियोगितामा आज सम्पन्न दोस्रो प्ले अफको खेलमा ललितपुर सिटी एफसी विजयी भएको छ ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बुटवल लुम्बिनी एफसीलाई १-० गोलले स्तब्ध पार्दै फाइनल नजिक पुगेको हो । ललितपुरको लागि कप्तान तथा मार्की खेलाडी अन्जन विष्टले गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६१ औं मिनेटमा अन्जन विष्टले सुन्दर गोल गरि ललितपुर सिटीलाई जित दिलाए ।
उक्त जित सँगै ललितपुरले अब फाइनल प्रवेशिकाे लागि काठमाडौं रेजर्स सँग इलिमिनेटर खेल खेल्नेछ । त्यस्तै पराजित टोली बुटवल लुम्बिनी एफसी भने यश प्रतियोगिताबाट बाहिरिएको छ । अब भोलि (बिहिबार) ललितपुरले काठमाडौं रेजर्स सँग खेल्नेछ ।
लिग चरणको खेलमा ललितपुरले तेस्रो र बुटवलले चौथो स्थानमा रहदै प्लेअफमा स्थान बनाएका हुन् ।
यसअघि हिजो (मंगलबार) सम्पन्न पहिलो प्ले अफमा काठमाडौंलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै धनगढी एफसी फाइनल प्रवेश गरिसकेको छ ।