काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटको आकार संशोधन गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बजेको मध्यावधि समीक्षा मार्फत बजेको आकार १५ खर्ब ४९ अर्ब ९९ करोड बनाएका हुन् । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेश गरेका थिए ।
अर्थमन्त्री पौडेलले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बजेको आकार २ खर्ब ४४ अर्ब रुपैयाँ घटाएका हुन् । उनले बजेटको आकार १४ प्रतिशतले घटाएको संसदलाई जानकारी दिए ।
उनले भने, ‘चालू खर्चतर्फ ११ अर्ब ८३ अर्ब २३ करोड सुरु विनियोजन भएकोमा १० खर्ब २१ अर्ब ९२ करोड संशोधित अनुमान छ । पुँजीगत खर्चतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड सुरु विनियोजन गरिएकोमा ३ खर्ब १३ अर्ब ८५ करोड मात्र हुने संशोधित अनुमान गरेको छ । त्यस्तै, वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २१ करोड विनियोजन गरिएकामा २ खर्ब १४ अर्ब २१ करोड हुने संशोधित अनुमान गरेको छ ।’
त्यस्तै, अर्थमन्त्री पौडेलले अर्थतन्त्रको समस्या समाधान गर्न निरन्तर प्रयत्न गर्दै आएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनका सम्बन्धमा वक्तव्य दिँदै उनले आफूले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वित्तीय क्षेत्रमा देखापरेका सम्पूर्ण समस्या समाधान गर्न प्रयास केन्द्रित गरेको बताएका हुन् ।
“निजी क्षेत्रको व्यावसायिक आत्मविश्वास जोगाउन, सरकार र निजी क्षेत्रबीचको सम्बन्धलाई विश्वसनीय र सहयोगी बनाउन, राजस्व परिचालनमा देखिएको विकृति र विचलनलाई सुधार ल्याउन बजेट कार्यान्वयनमा विद्यमान समस्यमा समाधान गर्न र वित्तीय क्षेत्रमा देखा परेका समग्र समस्या समाधान गर्न प्रयास केन्द्रित गरेको छु”, उनले भने, “तथापि, संरचनागत सीमितता र केही अन्तर्राष्ट्रिय असरका कारण सुधारका प्रयासले ठोस् नतिजा दिन समय लाग्ने देखिएको छ ।”
उपप्रधानमन्त्री पौडेलले बजेट सन्तुलन कायम गर्ने, खर्चको प्राथमिकीकरणको गुणस्तर बढाउने पुँजीगत खर्च वृद्धिमा जोड दिने, अत्यावश्यक बाहेकका खर्च कटौती गरी मितव्ययिता कायम गर्ने तथा राजस्व प्रशासनलाई चुस्त दुरुस्त बनाउने, कर परिपालना बढाउने र चुहावटमा कडाइ गर्ने नीति लिएको पनि सदनलाई जानकारी गराए ।