काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो क्वालिफायरमा काठमाडौं रेजर्सले ललितपुर सिटीमाथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।
बिहिवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न भएको खेलमा काठमाडौंले ललितपुरलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनल खेलमा धनगढी एफसी सँगको भेट पक्का गरेको को छ ।
काठमाडौंको जितमा मेसौके ओलोमोउले २ र स्टेफेन बिनोङले १ गोल गरे पहिलो हाफमा २-० गोलको अग्रता बनाएको काठमाडौले दोस्रो हाफमा थप १ गोल गर्न सफल भएको हो ।
खेलको १५ औं मिनेटमा मेसौके ओलोमोउले पेनाल्टीमा गोल गर्दै काठमाडौंलाई सुरुवाती अग्रता दिलाए । त्यस्तै खेलको २२ औं मिनेटमा मेसौकेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २-० को अग्रता दिलाएका थिए ।
त्यसपछि दोस्रो हाफको खेलको ६० औं मिनेटमा स्टेफेन बिनोङले गोल गर्दै काठमाडौंलाई ३-० गोलको सहज जित दिलाए ।
उक्त जितसँगै काठमाडौंले उपाधिका लागि धनगढी एफसीसँग खेल्नेछ । यता पराजित ललितपुर भने प्रतियोगिता बाट बाहिरिएको छ । फाइनल खेल जेठ १ गते हुनेछ । उक्त खेलको बिजेताले नगद ३५ लाख प्राप्त गर्नेछन् ।