काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (शुक्रबार) तेस्रो पटक नेपालको प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
प्रतिनिधिसभामा विश्वासको मत गुमाएको ३ दिनमै नेपालको प्रधानमन्त्रीमा तेस्रो पटक नियुक्त भएकै भोलिपल्ट एमाले ओलीले शपथ लिन लागेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति ओलीलाई संविधानको धारा ७२ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीले धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि दलहरुसँग आह्वान गरे पनि बिहीबार नौ बजेको समयसीमाभित्र कुनै दलले पनि दाबी प्रस्तुत नगरेपछि सबैभन्दा ठूलो दलको नेताको हैसियतमा ओलीले तेस्रो पटक मुलुकको नेतृत्व पाएका हुन् ।
प्रधानमन्त्री पदमा सत्तारोहण गर्ने अवसर पाएका ओलीले आज अपरान्ह शपथ लिनेछन् । अब उनले संसदमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।