बैशाख ३१, २०७८ शुक्रबार

एजेन्सी । जर्मन डिएफवी पोकल कपको उपाधि बोरुसिया डर्टमुन्डले जितेको छ ।

शुक्रबार बिहमन सम्पन्न भएको फाइनल खेलमा आरबी लेइपिजलाई ४-१ गोलअन्तरले हराउँदै डर्टमुन्डले उपाधि जितेको हो ।

डर्टमुन्डलाई उपाधि दिलाउन जाडोन सान्चो र इयर्लिङ हालान्डले समान २/२ गोल गरे ।यता लेइपिजका डेनी ओल्मोले १ गोल गरे ।

जारी खेलको पाँचौँ मिनेटमा सान्चोले गोल गरेपछि डर्टमुन्डले सुरुवाती अग्रता बनाएको थियो । त्यस्तै २८औं मिनेटमा हालान्डले गोल गर्दै डर्टमुन्डको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्ज्युरी समयमा सान्चोले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमुन्डलाई पहिलो हाफमै ३-० गोलको आरामदायी अग्रता दिलाए ।

त्यस्तै दोस्रो हाफको खेलको ७१औं मिनेटमा लेइपिजका ओल्मोले गोल गर्दै लेइपिजलाई खेलमा फर्काउने प्रयास गरे । तर ८७औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो तथा क्लबका लागि चौथो गोल गर्दै डर्टमुन्डलाई ४-१ गोलको शानदार जित दिलनए ।

उक्त जितसँगै डर्टमुन्डले पाँचौँ पटक डिएफबी पोकलको उपाधि जितेको छ । उसले पाँचौँ पटक नै फाइनल पुगेको थियो । जसमा पाँचौं पटक सफल भएको हो ।