बैशाख ३१, २०७८ शुक्रबार

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले सन् २०२४ को टी-ट्वान्टी विश्वकपमा सहभागि टीमको संख्या २० पुऱ्याउने योजना बनाएको छ ।

केहि साता अगाडी एकदिवसिय विश्वकपमा सहभागि टिमको संख्या १४ पुर्याउने निर्णय गरेको आइसीसीले अब टी-२० विश्वकपमा पनि टिम बढाउने योजना बनाएको छ ।

यो बर्ष र २०२२ मा हुने टी ट्वान्टी विश्वकपमा १६ टिमको सहभागि हुनेछ ।

आइसीसीको नयाँ योजना लागु भएमा एसोसियट देशलाई पनि विश्वकपमा सहभागिता जनाउनका लागि अहिलेको भन्दा निकै सहज हुनेछ ।

यसका साथै आइसीसीले टेष्ट मान्यता नपाएका एसोसियट देशहरुविच हुदै आएको इन्टर कन्टिनेन्टल कप नया नाम र स्वरुपमा सुरु गर्ने योजना पनि बनाएको छ । पछिल्लो चार बर्षदेखि यो प्रतियोगिता हुन सकेको छैन ।

जसका कारण एसोसियट टिमले आइसीसीको लामो फरम्याटको प्रतियोगिता खेल्न पाएका थिएनन् । अब यो प्रतियोगिता फेरी सुरु भएको खण्डमा नेपाललाई पनि फाइदा हुनेछ । नेपालले सन् २००५ पछि इन्टर केन्टिनेन्टल कप खेलेको छैन ।