काठमाडौं । देशभरका कूल ७५३ स्थानीय तहमध्ये अब ३ मात्रै स्थानीय तहमा वाणिज्य बैङ्कका शाखा खुल्न बाँकी रहेका छन् । सबै स्थानीय तहमा वित्तीय सेवा तथा पहुँच पुर्याउने सरकारको योजना पूरा हुन लागेको छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार अब धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा मात्रै वाणिज्य बैङ्कका शाखा खुल्न बाँकी छ ।
केन्द्रीय बैङ्कले कूल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा (क) वर्गका वाणिज्य बैङ्कका शाखा विस्तार भएको जनाएको छ ।
विसं २०७६ को चैत मसान्तसम्मको विवरणमा भने कूल ७४६ स्थानीय तहमा मात्रै वाणिज्य बैङ्कका शाखा खुलेका थिए । विसं २०७७ को चैत मसान्तसम्म भने ७५० स्थानीय तहमा शाखा खुलेका छन् ।
बाँकी रहेका स्थानीय तहमा समेत आवश्यक भौतिक पूर्वाधार, सूचना सञ्चार तथा अन्य सुरक्षाको प्रबन्ध गरेर छिट्टै वाणिज्य बैङ्कका शाखा खुल्ने केन्द्रीय बैङ्कले विश्वास लिएको थियो ।
ग्रामीण क्षेत्रका नागरिकलाई समेत सहज रुपमा वित्तीय सेवा र पहुँच पुर्याउनका लागि नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूलाई पनि विशेष सुविधा र सहुलियत दिँदै आएको छ ।
यस्तै गत चैत मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या १४० रहेको छ । त्यसमध्ये २७ वाणिज्य बैङ्क, १८ विकास बैङ्क, २० वित्त कम्पनी, ७४ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैङ्क सञ्चालनमा छन् । देशभर बैङ्क तथा वित्तीय संस्थाको शाखा सङ्ख्या १० हजार ५४६ पुगेको छ ।