जेठ १, २०७८ शनिबार

काठमाडौं । पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) को उपाधि काठमाडौं रेजर्सले जितेको छ । 
 
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढी एफसीलाई १-० गोल अन्तरले हराउँदै काठमाडौं पहिलो संस्करणको नेपाल सुपर लिग च्याम्पियन बनेको हो ।

काठमाडौंलाई उपाधि दिलाउन मेसौके ओलोमोउले निर्णायक गोल गरे । उनले खेलको २१ औं मिनेटमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका हुन् । विश्वास श्रेष्ठले धनगढीका मिडफिल्डर विशाल राईबाट बल खोस्दै अगाडी बढाएर उपलब्ध गराएको बलमा मेसौकेले उत्कृष्ट गोल गरे ।

उक्त जित सँगै काठमाडौंले नगद ३५ लाख प्राप्त गर्नेछन् । भने उपविजेता धनगढीले नगद १५ लाखमा चित्तबुझउन बाध्य भयो । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोग रहेको छ । 

पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । यस अघि दुवै खेलमा हारेको काठमाडौंले फाइनलमा आएर बदला लिएको छ ।