एजेन्सी । इटालियन सिरी ए फुटबलमा साविकको विजेता युभेन्टसले आफ्नो ३७औं साताको खेलमा जारी सिजनको च्याम्पियन इन्टर मिलानलाई पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा घरेलु टोली युभेन्टसले पाहुना टोली इन्टर मिलानलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । युभेन्टसले महत्त्वपूर्ण ३ अंक जोडेको हो ।
युभेन्टसको जितमा जुआन क्वाडराडोले २ तथा सुपरस्टार क्रिस्टियानो रोनाल्डोले १ गोल गरे । यता इन्टरका लागि रोमेरो लुकाकुले १ गोल गर्दा अर्को गोल आत्मघाती भएको थियो ।
युभेन्टसले खेलमा दुई पटक अग्रता लिएको थियोे । जसमा दुई पटक बराबरी गरे पनि इन्टरले अन्तिम समयमा संयमता गुमाउँदा अंक जोड्न असफल भयो ।
खेलको २४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । रोनाल्डोको पेनाल्टी प्रहार इन्टरका कप्तान सामिर हान्दानोभिचले बचाएपनि रिबाउन्डमा रोनाल्डोले गोल गरेका थिए । पहिलो त्यस्तै खेलको ३५औं मिनेटमा मिलानले पेनाल्टी पायो उक्त पेनाल्टीमा लुकाकुले गोल गर्दै खेल १-१ गोलको बराबरी अबस्थामा फर्काए ।
त्यस्तै पहिलो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा क्वाडराडोले गोल गर्दै युभेन्टसलाई पहिलो हाफमा २-१ गोलको अग्रता दिलाए । त्यसपछि दोस्रो हाफको ५५औं मिनेटमा युभेन्टस १० खेलाडीमा समेटियो । उसका बेन्टोन्कुरले दोहोरो पहेको कार्ड खादै मैदान छाडेपछि युभेन्टस १० खेलाडीमा झरेको थियो ।
त्यस्तै खेलको ८३औं मिनेटमा इन्टरले आत्मघाती उपहार गोल पायो । युभेन्टसका कप्तान किएलिनीले आफ्नै पोस्ट छिराएका थिए । त्यसपछि खेलको ८८औं मिनेटमा युभेन्टसले पुनः पेनाल्टी पायो जसमा क्वाडराडोले गोल गरि युभेन्टसलाई रोमाञ्चक जित दिलाए ।
उक्त जितसँगै युभेन्टस अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसको ३७ खेलबाट ७५ अंक रहेको छ । यो जित सँगै युभेन्टसले आगामी सिजन च्याम्पियन लिग खेल्ने सम्भावना जिवित राखेको छ ।
यता च्याम्पियन इन्टरको ३७ खेलबाट ८८ अंक छ । दोस्रो स्थानको एटलान्टाको ३७ खेलबााट ७८ अंक छ भने एसी मिलानको ३६ खेलबाट ७५ अंक छ । पाँचौ स्थानको नेपोलीको ३६ खेलबाट ७३ अंक रहेको छ ।