फागुन २९, २०७९ सोमबार

नेपालगञ्ज, २९ फागुन : विपदका बेला सीमान्तकृत समुदाय, महिला, बालवालिका तथा ज्येष्ठ नागरिकमाथि हुने विभेद्का विषयमा आजदेखि यहाँ तीन दिने तालिम  सुरु भएको छ । 

सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजनाले लैङ्गिक अल्पसङ्ख्यक र जोखिममा रहेका समुदायको संरक्षणका विषयमा पैरवी गर्दै उनीहरुमाथि हुने विभिन्न हिंसा, यौन शोषण र विभेद्का विषयमा तालिममा छलफल गरिनेछ । 

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि शर्माले हिंसा र विभेद्को विषय सबैको साझा दायित्व भएको उल्लेख गर्दै विपद्का बेलामा आउने समस्या समाधान गर्न पूर्व तयारी आवश्यक भएको बताउनुभयो । उहाँले त्यसबेला राहत र उद्धारका विषय मात्रै प्राथमिकतामा परे पनि विभेदका विषयलाई ध्यान नदिएको उल्लेख गर्नुभयो । 

    युनिसेफ नेपालका क्षेत्रीय संयोजक दीपक श्रेष्ठले जोखिममा रहेका समुदायलाई लक्षित गरेर उनीहरुलाई मूलप्रवाहीकरण गर्नका लागि सबै समुदायको सहभागितामा छलफल सुरु गरिएको बताउनुभयो । 

सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयकी जयन्ती गिरीले विपदका बेला हुने अनैतिक कार्यलाई निरुत्साहित गर्न पहुँच नभएकाको सवाललाई ध्यानमा राखेर काम गर्न आवश्यक भएको धारणा राख्नुभयो । 

कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयकी अनिता ज्ञवालीले विपदका बेला लैङ्गिक हिंसा न्यूनिकरणका लागि प्रभावकारी कदम चाल्न आवश्यक भएको सुझाव दिनुभयो । तालिममा लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका विभिन्न सरकारी तथा गैर सरकारी संस्थाबाट करिब ६५ जनाको सहभागिता छ ।