काठमाडौं । स्पेनिस ला लिगामा साविको विजेता रियल मड्रिडले एथ्लेटिक बिल्बाओमाथि १–० गोलको साघुँरो जित निकालेको छ ।
आइतबार राति बिल्बाओको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली रियललाई जिताउन नाचोले निर्णायक गोल गरे ।
निकै प्रतिस्प्रधात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको खेलको ६८औं मिनेटमा नाचोले गोल गर्दै रियललाई जिताए । त्यस्तै खेलको अन्तिम मिनेटमा घरेलु टोली १० खेलाडीमा सीमित बनेको थियो । ८९औं मिनेटमा बिल्बाओका राउल गार्सियाले रातो कार्ड पाएका थिए ।
उक्त जित सँगै दोस्रो स्थानको रियलले ३७ खेलबाट ८१ अङ्क जोडेको छ । यता शीर्ष स्थानको एथ्लेटिको मड्रिडको समान ३७ खेलबाट ८३ अङ्क रहेको छ । अब, हुने अन्तिम खेलमा एथ्लेटिकोको पराजित भएको खण्डमा रियलले उपाधि जित्ने सम्भावना छ । स्मरण रहोस् रियलले उक्त जितलाई निरन्तरता दिएमा वा एथ्लेटिको पनि विजयी भएमा उपाधि एथलेटिकोले नै जित्नेछ । यता पराजित बिल्बाओको समान ३७ खेलबाट ४६ अंकसहित ९औं स्थानमा रहेको छ ।