चैत ३, २०७९ शुक्रबार

दमौली, ३ चैत ः स्वास्थ्य कार्यालय तनहुँले सुत्केरीलाई पोषण खर्चबापत रकम उपलब्ध गराउने भएको छ । 

गण्डकी प्रदेश सरकारले स्वास्थ्य कार्यालयमार्फत चालु आर्थिक वर्षमा सुत्केरीलाई पोषण खर्चबापत रकम उपलब्ध गराउन लागेको हो । लक्षित समूहका आमा र बच्चाको पोषण अवस्थामा सुधार ल्याई स्वास्थ्य अवस्था सुदृढ गर्नका लागि सुत्केरी भएको ४५ औँ दिनसम्म पोषिलो खानाका लागि पोषण खर्च उपलब्ध गराउन लागिएको कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सुत्केरीलाई एकमुष्ठ रु नौ हजार प्रदान गरिनेछ । 

कार्यालयले सुत्केरीलाई पोषण खर्चबापतको रकम उपलब्ध गराउनका लागि सबै स्थानीय तहसँग विवरण माग गरेको छ । “चालु आर्थिक वर्ष २०७९÷८० को साउन महिनादेखि सुत्केरी भएका महिलालाई उक्त रकम प्रदान गरिने छ, त्यसका लागि दश वटै स्थानीय तहसँग विवरण माग गरेका छौँ”, उहाँले भन्नुभयो । 

अतिविपन्न, दलित, अपाङ्ग र लोपोन्मुख सुत्केरी आमा पोषिलो खाना कार्यक्रममार्फत रकम उपलब्ध गराउन लागिएको उहाँले बताउनुभयो । अति विपन्न, दलित, अपाङ्ग र लोपोन्मुख समुदायको वर्गमा पर्ने सुत्केरी आमा हुनुपर्ने र त्यसको पहिचान सम्बन्धित वडाध्यक्षबाट प्रमाणित गर्नुपर्ने प्रमुख अधिकारीले  बताउनुभयो । 

गर्भपतन गराएकाको हकमा पोषण खर्च उपलब्ध नगराइने जनाइएको छ । आवश्यक कागजात सङ्कलन गरी स्वास्थ्य संस्थाले वडाको सिफारिस साथ नगरपालिका, गाउँपालिकाको स्वास्थ्य शाखामा विवरण उपलब्ध गराउने र स्वास्थ्य शाखाले एकमुष्ठ विवरण तयार गरी रकम भुक्तानीका लागि प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गराई स्वास्थ्य कार्यालयमा सिफारिससहित विवरण उपलब्ध गराउनुपर्ने जनाइएको छ । 

यो रकम लिनका लागि सम्बन्धित वडा कार्यालयबाट लक्षित वर्गअन्तर्गत पर्ने भनी गरिएको सिफारिस पत्र, नागरिकता वा परिचय खुल्ने आधिकारिक सरकारी कागजातको प्रतिलिपि, जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, सुत्केरीको नाममा खोलिएको बैंक खताको चेकको प्रतिलिपि उपलब्ध गराउनुपर्ने कार्यालयले जनाएको छ । 

यसैबीच व्यास नगरपालिका–९ स्थित गजुरे स्वास्थ्यचौकीबाट प्रसूति सेवा लिएकालाई उत्प्रेरणा खर्च र यातायात खर्च उपलब्ध गराइएको छ । स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत प्रोत्साहन उपलब्ध गराउने नीतिबमोजिम उनीहरुलाई उत्प्रेरणा खर्च र यातायात खर्च उपलब्ध गराइएको हो । 

चालु आवमा उक्त स्वास्थ्यचौकीबाट ११ जनाले प्रसूति सेवा लिएका छन् । उनीहरुलाई जनही रु दुई हजारका दरले यातायात खर्च र रु आठ सयका दरले उत्प्रेरणा खर्च उपलब्ध गराइएको चौकीका प्रमुख देविन्द्र कार्कीले जानकारी दिनुभयो ।