चैत ३, २०७९ शुक्रबार

पेरिस, ३ चैत ः इरानले प्रतिबन्धित समूहको सदस्यताका लागि राजनीतिक बन्दीका रूपमा हेरिएका एक कुर्दिश व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिएको अधिकारवादी समूहले बताएका छन् ।

नर्वेस्थित इरानी मानव अधिकार (आईएचआर) र हेन्गाव अधिकार समूहले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै मोहायदीन एब्राहिमीलाई उत्तर–पश्चिमी इरानको उर्मिया जेलमा शुक्रबार बिहान फाँसी दिइएको जनाएको छ ।

अन्य पाँच जनालाई पनि शुक्रबार बिहान उर्मियामा लागूऔषधसम्बन्धी आरोपमा मृत्युदण्ड दिइएको समूहले जनाएको छ ।

सन् २०१७ मा पक्राउ परेका र सन् २०१८ मा मृत्युदण्डको सजाय सुनाइएका इब्राहिमीमाथि इरानको कुर्दिस बाहुल्य क्षेत्रको आत्मनिर्णयका लागि सशस्त्र सङ्घर्ष गर्दै आएको प्रतिबन्धित समूह कुर्दिस डेमोक्र्याटिक पार्टीमा संलग्न भएको आरोप लागेको थियो ।

इब्राहिमीले उक्त आरोप अस्वीकार गर्दै आउनुभएको थियो । अधिकारवादी समूहहरूले उहाँ इराकबाट सामान बोक्ने भरियाको रूपमा मात्र काम गर्दै आएको बताएका छन् ।

आईएचआर र हेन्गाव दुवैले उहाँलाई  ‘राजनीतिक बन्दी’ को रूपमा वर्णन गरेका छन् ।

आईएचआरका अनुसार इब्राहिमीलाई मृत्युदण्ड दिइने निश्चित भएपछि उहाँका छोरालाई पक्राउ गरिएको थियो । यसको विरोधमा उर्मिया जेलको ढोकाबाहिर बिहीबार अबेर प्रदर्शन पनि गरिएको थियो ।

हेन्गावका अनुसार इब्राहिमीको परिवारलाई सुरुमा सजाय निलम्बन भएपछि उहाँलँई अर्को जेलमा पठाउन लागेको बताइएको थियो ।

गत सेप्टेम्बर १६ मा २२ वर्षीया इरानी कुर्द महसा अमिनीको मृत्युभएपछि सुरु भएको प्रदर्शनको विरोधमा इरानले चार जनालाई मृत्युदण्ड दिएको छ ।

अधिकारवादी समूहहरूले सबै प्रकारका अभियोगमा मृत्युदण्ड दिने क्रम बढ्दो क्रममा रहेको भन्दै यसले समाजलाई विरोध गर्नेहरूलाई तर्साउन खोजेको तर्क गरेका छन् । आईएचआरका अनुसार इरानमा यस वर्ष कम्तीमा १४४ जनालाई मृत्युदण्ड दिइएको छ ।  (रासस÷एएफपी)