जेठ ४, २०७८ मंगलबार

तस्बिर - एन्फा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेका छन् ।

फिफा विश्वकप तथा एसियन छनोट र इराकसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । त्यस्तै बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट अलमुताईरीले २३ सदस्सीय टोली छनोट गर्दा ठुलो परिवर्तन गरेका छन् ।  

जसमा नियमित सदस्य भरत खवास, रंजित धिमाल, अमित तामाङ, सेसेहाङ आङदेम्बे, रबि पासवान, निशान खड्का, विवेक बस्नेत, नितिन थापा र दर्शन गुरुङ जस्ता खेलाडी टोलीबाट बाहिरिएका छन् ।

त्यस्तै नेपाली टोलीमा ६ नयाँ अनुहार देखिएका छन् । जसमा गौतम श्रेष्ठ, सुरज जिउ ठकुरी, कमल थापा, आयुष घलान र मनिष डाँगी र गोलरक्षक विशाल सुनार पहिलो पटक राष्ट्रिय टोलीमा समेटिएका छन् ।

नेपालले आगामी  २९ मेमा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

त्यस्तै नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी खेलमा नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।

उक्त छनोटका बाँकी ३ खेल कुवेतमा हुने जसमा नेपालले पहिलो खेल जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।


घोषित नेपाली राष्ट्रिय फुटबल टोली (नामावलीसहित)

गोलरक्षक - किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

डिफेन्डर - रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास

मिडफिल्डर - विशाल राई, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल,मनिष डाँगी, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

फरवार्ड - अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा,अभिषेक रिजाल,