एजेन्सी । इटालियन नकआउट फुटबल प्रतियोगिता कोपा इटालियाको उपाधि युभेन्टसले जितेको छ ।
बिहिवार बिहान सम्पन्न भएको फाइनलमा एट्लान्टालाई २-१ गोल अन्तरले हराउँदै युभेन्टसले १४ औं पटक कोपा इटलियाको उपाधि उचालेको हो । युभेन्टसको जितमा डेजान कुलुसेभ्सकी र फेडेरिको किएजाले समान १/१ गोल गरे । यता एट्लान्टाका रुस्लन मालिनोबेस्कीले सान्त्वना गोल गरे ।
प्रतिस्पर्धात्मक फाइनल खेलमा सुरुवाती अग्रता युभेन्टसले बनाएको थियो । उसका लागि पहिलो हाफको खेलको ३१ औं मिनेटमा डेजान कुलुसेभ्सकीले निकै सुन्दर गोल गर्दै १-० गोलको अग्रता दिलाए । तर उक्त अग्रता भने युभेन्टसले १० मिनेट पनि टिकाउन सकेन । यता एट्लान्टाका रुस्लन मालिनोबेस्कीले खेलको ४१औं मिनेटमा गोल गरि खेल १-१ गोलको बराबरी अबस्थामा फर्काए । र पहिलो हाफ १-१ गोलको बराबरीमा सकियो ।
तर दोस्रो हाफको खेलको ७३ औं मिनेटमा फेडेरिको किएजाले युभेन्टसलाई पुन: अग्रता २-१ गोलको अग्रता दिलाए । त्यस्तै खेलको ८८ औं मिनेटमा रेफ्रीमाथि अभद्र व्यवहार गरेपछि एट्लान्टाका राफेल टोलोइले रातो कार्ड पाए । त्यसपछि बाँकी समय थप गोल हुन नसक्दा खेलमा युभेन्टसले उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो ।
उक्त उपाधि जितेपछि युभेन्टसका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले इंग्लिस कप , कोपा डेल रे र कोपा इटालिया जित्ने पहिलो खेलाडी बने । त्यस्तै यो सिजनको अत्यन्त सँगै युभेन्टस छाड्ने संकेत गरेको सर्वकालिन गोलरक्षक बुफोनले कोपा इटलिया छैटौं पटक उचाल्न सफल भएका छन् ।यस फाइनल खेलमा बुफोनले नै युभेन्टसको पोस्ट सम्हालेका थिए ।