चैत १३, २०७९ सोमबार

–कमलकुमार बस्नेत
टोकियो, १३ चैत: हरेक वर्षको अप्रिल र मे महिनामा काठमाडौँ ‘ज्याकरान्डा’का बैजनी फूलले रङ्गिए झैँ जापानी सहरहरु साँकुराले ढकमक्क हुने समय हो । ढकमक्क साँकुरा फुलेको मात्र सुनेकाले फुलेको हेर्ने औधी रहर थियो । तर एउटा नरमाइलो के भइदियो भने टोकियोका सडक र पार्कमा साँकुराका बोटमा कोपिला पलाउने र हाम्रो जापान बसाइ बिट मार्ने समय एउटै भइदियो । त्यसैले ‘बकेट लिस्ट’ यो सपना मौका मिले फेरि पूरा गर्ने रहर पूरा गर्ने भन्दै थाँती राख्याँै । यद्यपि, जापानमा रहँदा बाँकी धेरै रहर भने पूरा भए । त्यसैले करिब १० दिनको बसाइ निमेषभरमै सकिए झैँ लाग्यो । 
      
    हाम्रा लागि जापान घुम्न पाउनु अवसर थियो र यो अवसर जापान सरकारको परराष्ट्र मन्त्रालयको जापान इन्टरनेशनल कोअपरेशन सेन्टरले जुराइदिएको थियो । ‘जापान फ्रेन्डसिप टाइज प्रोग्राम’अन्तर्गत फेब्रुअरी २२ देखि २८ सम्म सञ्चालित जेनेसिस ‘जापान–इस्ट एशिया नेटवर्क अफ एक्सचेञ्ज फर स्टुडेन्ट एण्ड युथ’ कार्यक्रममा भाग लिन नेपालसहित पाकिस्तान, भूटान, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सबाट ३० जना विद्यार्थी र ३० जना ‘वर्किङ युथ’ गरी ६० जना सहभागी थियौँ । 
      
    कार्यक्रमको उद्देश्य थियो–जापानको संस्कृति, परम्परा, रहनसहन र विकासलाई निजकबाट नियाल्नु । यस पटकको यो कार्यक्रमलाई ‘ऊर्जा’ क्षेत्रमा केन्द्रित गरिएको थियो । यद्यपि, जापानले गरेको विकास, इतिहास, परम्परा, संस्कृति तथा साक्षात्कारलाई पनि कार्यक्रममा केन्द्रित गरिएको थियो । यस अर्थमा हामीले जापान बसाइमा ऊर्जा क्षेत्रका साथै विभिन्न पक्षबारे जानकारी र अनुभव बटुल्दै थियौँ ।
      
    नेपालबाट प्रतिनिधित्व गर्ने १० जना नारिता विमानस्थलबाट प्रक्रिया पूरा गरी बाहिर निस्किँदै गर्दा पाकिस्तानबाट आएका साथीहरु र ‘जाइस’का दुई जना कर्मचारीले हामीलाई पर्खिरहनुभएको थियो । कराँचीबाट दुबई हुँदै नारिता पुगेका पाकिस्तानका साथीहरुले भने हामीभन्दा आधा घण्टाअघि नै विमानस्थलको प्रक्रिया पूरा गरिसकेका थिए ।
       
    उसो त श्रीलङ्कन साथीहरु सोही दिन बिहान होटल पुगिवरी टोकियो टावर घुम्न भ्याइसकेका थिए । हामीभन्दा पछि बङ्गलादेश र माल्दिभ्सबाट साथी आइपुगे भने भोलिपल्ट बिहान मात्रै भुटानका साथीहरु टोकियो अवतरण गरे ।
      
    छ देशका ६० जना सबैका लागि यो पहिलो जापान भ्रमण थियो । भोलिपल्ट ब्रेकफास्टपछिको करिब एक घण्टा अन्य देशका केही साथीहरुसँग परिचय गर्दै सहर नियाल्ने मौका मिल्यो । सँगसँगै बिहानीको मधुरो घामसँगै सिरसिर चलेको चिसो हावाको कुनै प्रवाह नगरी साइकल कुदाउने र जेब्राक्रसिङमा छिटोछिटो हिँड्दै गन्तव्य छोट्याउँदै गरेका जापानीहरुलाई हेर्दै हामीले पहिलो बिहानीमा करिब आधा घण्टा पैदलै हिँडेर सहर नियाल्यौँ । चिटिक्क सफा र कोलाहलमुक्त सहरमा एकनाश ठडिएका गगनचुम्बी भवन, सफा र शान्त सहरलाई पृष्ठभूमिमा राखेर सम्झना स्वरुप केही थान तस्बिर पनि लियौँ ।
 
     प्यासिफिक समुन्द्र किनारको ‘कावासाकी इको म्युजियम’ पुग्दा नौलो लाग्यो । जहाँ विद्यार्थीका विभिन्न सिर्जनामार्फत पर्यावरण र ऊर्जाबारे केही जानकारी लियौँ । साथै छेवैमा रहेको सोलार प्लान्ट अवलोकन गर्ने अवसर पनि मिल्यो । जहाँ ३८ हजार सोलार प्यानल जडान गरी ८७ लाख ४० हजार किलोवाट आवर ऊर्जा उत्पादन भइरहेको थियो । यसरी उत्पादन भइरहेको ऊर्जा जापानका दुई हजार आठ सय घरधुरीमा खपत हुने गरेको रहेछ ।
      
    जापान बसाइका क्रममा हामीले विश्वविद्यालयका विभिन्न प्राध्यापकबाट जापानले भोगिसकेको ऊर्जाको समस्या र समाधानका लागि चालिएका विभिन्न प्रयासबारे जान्ने मौका पायौँ । सन् २०११ को भूकम्पका कारण फुकुशिमा न्यूक्लियर प्लान्ट बन्द भएपछि जापानले ऊर्जा स्रोतमा नयाँ विकल्पमा योजना बनाइरहेको रहेछ । ‘लो कार्बन बिल्डिङ’लाई प्रोत्साहन दिनुका साथै सन् २०५० सम्ममा ग्रीनहाउस ग्यास उत्सर्जन ८० प्रतिशतले घटाउने उद्देश्यले लिएको ‘नेट जिरो २०५०’ सम्बन्धी जान्ने मौका पायौँ । 
     
    जापान बसाइका क्रममा बकेट लिस्टमा बुलेट रेल नहुने कुरै भएन । टोकियोदेखि नागोयासम्म पुग्दा र फर्कंदा ‘सिङ्काशेन बुलेट रेल’मा यात्रा गर्ने अवसर जु¥यो । कूल दुई सय ६५ किलोमिटरको दूरी डेढ घण्टाभन्दा कम समयमै तय गर्दै जापानको ग्रामीण क्षेत्रमा काठबाट निर्मित ससाना घरले भरिएका सुन्दर गाउँ र ‘माउन्ट फूजी’को अवलोकन गर्ने अवसर पनि पायौँ । 
    
    यातायातको साधनका रुपमा साइकलको प्रयोग अत्यधिक हुने रहेछ । टोकियोमा मात्रै प्रत्येक वर्ष १० लाखभन्दा बढी साइकल बिक्री हुने रहेछ । यसले वातावरण जोगाउन र ऊर्जा खपत कम गर्न खेलेको भूमिकाबारे पनि हामीलाई जानकारी गराइयो । अधिकांश व्यक्ति सकेसम्म साइकल नै चलाउने रहेछन् । स्वस्थ खाना, शारीरिक व्यायाम, उच्च गुणस्तरयुक्त जीवनशैलीकै कारण जापानीजहरुको औसत उमेर संसारमै सबैभन्दा राम्रो भएको रहेछ भन्ने बुझ्न गाह्रो भएन ।