सहजपुर, १३ चैत (रासस) : सामुदायिक वन व्यवस्थित बनाउन कैलालीको एक वन उपभोक्ता समितिले टोलटोलमा सुझाव पेटिका राखेको छ । जिल्लाको गोदावरी नगरपालिका–४ बास्कोटामा रहेको बास्कोटा सामुदायिक वन उपभोक्ता समितिले उपभोक्ताको सुझाव सङ्कलन गर्ने योजनाअनुरुप उक्त पेटिका टोलटोलमा राखेको हो ।
सामुदायिक वनमा रहेका उपभोक्तालाई वनको व्यवस्थापनका लागि आवश्यक पर्ने सुझाव दिन साधारणसभा नै कुर्नुपर्ने अवस्था नहोस् भन्नका लागि वनका उपभोक्ताका टोलटोलमा उक्त सुझाव पेटिका राखिएको सामुदायिक वनकी अध्यक्ष कुन्ती जोशीले जानकारी दिनुभयो । उहाँले चार वटा टोलमा सुझाव पेटिका राखिएको बताउनुभयो । उहाँका अनुसार वनको चारवटै किल्लामा रहेका उपभोक्ताका समस्या, उनीहरुका गुनासा बुझ्न उक्त सुझाव पेटिका राखिएका हुन् । आफूहरु समितिमा नयाँ पनि भएकाले उपभोक्ताका सुझावले आफूहरुको मार्गदर्शनमा सहज हुने विश्वास लिएको उहाँको भनाइ छ ।
‘हामी सबै वनका रक्षक हौँ’ नाराका साथ उक्त सुझाव पेटिकामा प्रत्येक टोलका अलगअलग नम्बर राखिएको छ । सुझाव पेटिकामा वनमा गोठाला भए नभएको, वनमा वृक्षरोपण तथा अन्य विभिन्न सामुदायिक वनको सुरक्षा र व्यवस्थापनका लागि आवश्यक पर्ने सुझाव राख्न सकिने जनाइएको छ । “वनमा दुई जना वन हेरालु राखेका छौँ”, अध्यक्ष जोशीले भन्नुभयो, “ती वन हेरालुले पनि वनको हेरचाह कस्तो किसिमले गरिरहेका छन्, नयाँ टिम भएकाले वनको उचित व्यवस्थापनका लागि के–कस्ता काम गर्न सकिन्छ भन्ने सुझाव उपभोक्ताबाट पाउने अपेक्षा छ ।” करिब तीन महिना पहिलेदेखि राखिएका उक्त सुझाव पेटिका प्रत्येक हप्तामा खोलिने गरिएको छ । सुझाव पेटिका राखेका क्षेत्रमा उपभोक्ता समितिका पदाधिकारी पनि भएकाले उनीहरुले सुझाव सङ्कलन गर्ने गरिएको छ ।
सुझाव पेटिका राखेको तीन महिना भए पनि अपेक्षा गरेअनुसारका सुझाव कुनै पेटिकामा नभेटिएको उहाँको भनाइ छ । उहाँले चारवटै सुझाव पेटिकामा एक÷दुई वटा सुझाव मात्रै आएको र ती सुझाव सामुदायिक वनको हितका लागि रहेको बताउनुभयो ।
विसं २०५४ मा स्थापना भएको उक्त सामुदायिक वनमा यसअघिको कार्यकालमा मानबहादुर साउँद अध्यक्ष रहनुभएको थियो । उहाँले सामुदायिक वन हेरचाहका लागि वन क्षेत्रको चारैतिर तारजाली गर्नुभएको थियो भने सामुदायिक वनको क्षेत्र छुट्याउने काम गर्नुभयो । यही पुस ९ गते सम्पन्न साधारणसभाबाट जोशीको अध्यक्षतामा सामुदायिक वनको नयाँ कार्यसमिति चयन भएको थियो । उक्त कार्यसमितिले नै टोलमा सुझाव पेटिका राख्ने निर्णय गरेको थियो । सामुदायिक वनका क्षेत्रमा रहेका खोलानालामा तटबन्ध गर्ने, वन्यजन्तुको सुरक्षाका लागि खानेपानीको व्यवस्थापन गर्नेलगायत वनको सुधारका पक्ष औँल्याएर सोहीअनुसार काम गर्ने आगामी योजना रहेको छ ।
सीपमूलक तालिम सञ्चालन गर्ने योजना
वनलाई व्यवस्थित बनाइ आम्दानी गर्नसके वनका महिला उपभोक्तालाई सीपमूलक तालिम दिने योजना उक्त सामुदायिक वनले लिएको छ । महिलालाई आत्मनिर्भर बनाइ उनीहरुको आयआर्जनमा सहजता ल्याउन समितिले सीपमूलक तालिम सञ्चालन गर्ने जनाएको छ ।
“पछिल्लो समय बेरोजगारीका कारण कतिपय महिला दिदीबहिनी आर्थिक विपन्नताका कारण समस्यामा परेका छन्”, उहाँले भन्नुभयो, “सामुदायिक वन व्यवस्थित भएर यसले आम्दानी गर्नसके त्यस्ता महिलाको आयस्तर माथि उकास्न हामीले सीपमूलक तालिम दिने सोच बनाएका छौँ”, उहाँले सिलाइकटाइ, टपरी बुनाई, तरकारी खेतीलगायतका महिलालाई सहजैरुपमा सिकाउन सकिने र व्यवहारमा प्रयोग गर्न सकिने खालका तालिम सञ्चालन गरिने बताउनुभयो । समितिमा छ सय २० उपभोक्ता छन् । उक्त सामुदायिक वन एक सय ३२ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।