फागुन १२, २०७७ बुधबार


एजेन्सी।
भारत–इङ्ल्यान्ड तेस्रो टेस्ट बुधबारबाट भारतको अहमदाबादस्थित विश्वकै सबैभन्दा ठूलो क्रिकेट मैदान मोटेरामा सुरु भएको छ । सन् १९८३ बाट सञ्चालमा आएको यो मैदानलाई हालै स्तरोन्नति गरेर विश्वकै सबैभन्दा ठूलो क्रिकेट मैदान बनाइएको हो । यो मैदानको पुनर्निर्माण सन् २०१७ बाट थालिएको थियो ।

सरदार पटेलको नामले पनि परिचत मोटेरा क्रिकेट मैदानमा सन् २०१४ पछि पहिलो खेल हुन लागेको हो ।

सात अर्बमा बनेको मोटेराका ९ तथ्य 

१।सात अर्ब भारतीय रुपैयाँमा निमार्ण सम्पन्न गरिएको मोटेरा क्रिकेट मैदान ६३ एकडमा फैलिएको छ । जसमा ओलम्पिक साइजको पौडी पोखरी, ४ ड्रेसिङ रुम र दुई अभ्यास मैदान छन् ।

२।११ पिच भएको मोटेरा विश्वको एक मात्र क्रिकेट मैदान हो । यो मैदानमा ५ पिच निर्माण गर्दा रातो र ६ पिच निमार्ण गर्दा कालो माटोको प्रयोग गरिएको छ ।

३। मोटेरा क्रिकेट मैदानको क्षमता १ लाख १० हजार छ । यसअघि विश्वको सबैभन्दा ठूलो क्रिकेट मैदानका रूपमा रहेको मेलवर्नको क्षमता १ लाख थियो ।  
भारत–इङ्ल्यान्ड टेस्टका लागि यो मैदानमा ५५ हजार दर्शक उपस्थित हुनेछन् । कोरोनाका कारण ५० प्रतिशत दर्शकलाई मात्र प्रवेश अनुमति दिइएको हो ।  

४। मोटेरा क्रिकेट मैदानमा वर्षाका कारण खेल स्थगित हुँदैन किनकि यो मैदानमा यस्तो प्रविधिको प्रयोग गरिएको छ जसले वर्षा रोकिएको आधा घण्टामै मैदानलाई सुख्खा बनाउँछ । 

५।यो मैदानमा फ्लड लाइट नभएर एलइडी लाइटको प्रयोग गरिएको छ । एलइडी लाइटमा छाया नदेखिने भएकाले रातको समयमा खेल्न सहज हुन्छ । एलइडी लाइट प्रयोग भएको मोटेरा भारतको पहिलो क्रिकेट मैदान हो । 

६।मैदानको ४ ड्रेसिङ रुममा आधुनिक जिमखानको पनि व्यवस्था गरिएको छ जसका कारण खेलाडीलाई जिम गर्न अन्यत्र जानु पर्नेछैन । 

 ७। यो मैदानको प्याराफिट ३६० डिग्रीमा निमार्ण गरिएको हुँदा जुनसुकै स्थानबाट पनि दर्शकले स्पष्ट देख्न सक्नेछन् ।

८।यो मैदानको उद्घाटन गत वर्ष नै अमेरिकी राष्ट्रिपति डोनाल्ड ट्रम्पले गरेका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ठूला परियोजनामध्ये यो पनि एक हो । 

९।अत्याधुनिक सुविधा सम्पन्न मोटेरा क्रिकेट मैदानको पूर्ण स्वामित्व गुजरात क्रिकेट एसोसिएसनसँग छ ।