चैत १६, २०७९ बिहिबार

काभ्रेपलाञ्चोक, १६ चैत: पनौती नगरपालिका–५ सुब्बागाउँको खेतमा रोपिएको आलुखेतीमा बँदेलले क्षति पु¥याउँदै आएको छ । जङ्गल छेउका खेतमा एक रातमै करिब दुई÷तीन रोपनी खेतको आलुको ड्याङ भत्काएर खाने र कलिलैमा सपाख पारेपछि स्थानीय कृषक चिन्तित बनेका छन् । 
    
    केही दिनदेखि बँदेल आतङ्कका कारण राति खेत कुर्नुपर्ने बाध्यता आउन थालेको स्थानीय बुद्धिबहादुर थापाले बताउनुभयो । “राति बँदेलको समूहले ठाउँठाउँमा गरी १५ रोपनी जति खेतमा आलु क्षति पु¥याइएसके, अब रातभर पाले बस्नुपर्ने जस्तो देखियो”, उहाँले भन्नुभयो । उहाँका अनुसार नगर तथा जिल्लास्थित निकायमा बालीमा क्षति पु¥याएको तथा रोकथामका लागि मौखिक जानकारी गराइएको छ । पीडित कृषक अब लिखितरुपमा माग गर्ने तयारीमा छन् । 
    
    मल र बीउको अभावमा रोपिएको आलु क्षति हुँदा यहाँका कृषक निकै चिन्तित बनेका हुन् । गत वर्ष पनौती नगरको कुशादेवी क्षेत्रमा पनि समूहसमूहमा आएको बाँदरले स्थानीयलाई निकै दुःख दिएका थिए । 
    
    यसअघि गत असारमा मण्डनदेउपुर नपा–९ स्थित रायोबारीमा चितुवाले योग गङ्गा वाइल्ड एण्ड च्याटल फार्मका छ सय ५० कालिजमध्ये  तीन सय ५० कालिज मारेको थियो । बिहान ३ बजे अध्याँरोका समयमा कालिज मार्दै खाँदै गरेपछि स्थानीयले देखेर चिच्याएपछि चितुवा भागेको थियो । मारेको तीन सय ५० मध्ये चितुवाले ६० वटा कालिज खाएको थियो । बाख्रा, टर्की र कुखुरापालन गरिएको उक्त फार्ममा त्यतिबेला रु आठ लाखको क्षति भएको थियो । 
    
    यसअघि सोही नगरको १ नं वडास्थित नगरकोट हलेदेमा गत वर्ष बँदेलले सयौँ रोपनी जमिनको मकै खाँदै फाँडेर सखाप पारेको थियो । बँदेलबाट अन्नबाली जोगाउन स्थानीय रातभरि आलोपालो कुरुवासमेत बसेका थिए । स्थानीय दिपक बस्ताकोटीका अनुसार बँदेल आतङ्कले गाउँलेसमेत घरमा बस्न डराएका थिए । “त्यतिबेला अन्नबालीमात्र हैन, मानिससमेत डराउनुपर्ने अवस्था सिर्जना भएको थियो, यसपाली पनि त्यही हुने हो कि, मकै फल्ने बेला हुन लाग्यो”, उहाँले भन्नुभयो । 

    उहाँका अनुसार विशेषगरी राति समूहसमूहमा आएको बँदेलले फल्न थालेको मकैबाली सखाप पारेका थिए । अघिल्लो वर्ष पनि नगरको १२ वडामध्ये आठ र नौबाहेक सबैमा बाँदरले खेतबारीको बालीमा क्षति पु¥याएको थियो । त्यतिबेला नगरले पहिलो चरणमा १२ नं वडाका स्थानीयलाई सामूहिकरुपमा प्रयोग गर्न बाँदर धपाउने १५ यन्त्र दिएको थियो । घटनाक्रमले काभ्रेपलाञ्चोकमा केही वर्षदेखि जङ्गली जनावरको आतङ्क बढ्दै गएको पाइएको छ । त्यसैले जङ्गल नजिक बस्तीका कृषकका बाली नष्ट भएका छन् भने यदाकदा, चितुवाजस्ता हिंस्रक जनावरको आक्रमणले जनधनको क्षति हुँदा मानिससमेत त्रसित अवस्थामा बस्नुपर्ने बाध्यता देखिन्छ । 

    पाँचखाल नपा–१३ कोशीदेखाका बासिन्दा चार वर्षदेखि बँदेल र बाँदरले बालीमा पु¥याउँदै आएको क्षति सहँदै तिनका आतङ्कले निकै आजित बनेका छन् । स्थानीय यमलक्ष्मी थपलियाले बँदेल र बाँदरले कटहर र अदुवाबाहेक सबै खाने गरेको बताउनुभयो । उहाँका अनुसार जङ्गली जनावरको आतङ्क नरोकिए विस्थापित हुनुपर्ने बाध्यता रहेको छ । स्थानीय जनप्रतिनिधिसँग दुःखेसो पोखे पनि कुने समाधानको उपायबारे सहयोग नभएको थपलियाको गुनासो छ । 
    
    बनेपा नपा–३ काँक्रेका कृषक गोकुल बजगार्इं वन बाक्लिँदा जङ्गली जनावर पनि बढ्दै गएकाले मानिसका लागि थप चुनौती बन्दै गएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “वनमा बँदेलको सङ्ख्या बढ्दा आलुलगायतका खेतीबाली नष्ट हुँदै गइरहेका छन् ।” उहाँका अनुसार प्रत्येक वर्ष बँदेलले खेतबारीमा लगाएको आलु रोपेकै दिन हुँडलेर सखाप बनाइदिने गर्दछन् । स्थानीय शिक्षक तुलाप्रसाद दाहाल भने बँदेल भगाउन बारीमा रेडियो बजाएर राखेकोसमेत अनुभव सुनाउनुहुन्छ । 
    
    धुलिखेल नपा–१ देवीटारकी कृषक सरस्वती घोरासैनीलाई दुम्सीले हैरान पार्दै आएको वर्षौं भइसक्यो । “दुम्सीले बारीको काँक्रो र तरकारीका बोट नै सखापै पार्ने गर्छ, अहिले पनि अन्य बालीमा क्षति पु¥याउँछ कि भन्ने सम्भावित जोखिममै बसेका छौँ”, उहाँले भन्नुहुन्छ । उहाँका अनुसार दुम्सी ओढारमा लुक्ने र कोही नभएका बेला बारीमा आएर काँक्रो तथा अन्य बालीको उम्रिएका बोट उखेलेरै फाल्ने गर्दछन् ।  
    
    काभ्रेपलाञ्चोकमा वन क्षेत्रमा जोडिएर रहेका बस्तीमा जङ्गली जनावरले बाली तथा घरपालुवा जनावरलाई समेत क्षति पु¥याएपछि समाधानका लागि छलफल पनि चलाउने गरिन्थ्यो । जिल्लास्थित संवाद समूहले केही महिनाअघिसम्म विभिन्न स्थानीय तहमा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे विभिन्न चरणमा सरोकारवालासँग संवाद गर्दा अधिकांश कृषकले बँदेल र बाँदरको समस्या देखाउँदै आएका थिए । 
    
    डिभिजन वन कार्यालय धुलिखेलका वनअधिकृत देवीचन्द्र पोखरेल जिल्लाका अधिकांश वनभित्र आवश्यक सङ्ख्याभन्दा बढी बँदेल भइसकेकाले किसानसँग द्वन्द्व बढ्ने खतरा बढेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कति सङ्ख्यामा कलिङ गर्ने भनेर नीतिमै परिवर्तन नगरेसम्म जङ्गली जनावरको आतङ्क न्यूनीकरण गर्न सकिँदैन ।” उहाँका अनुसार कार्यालयसँग बन्यजन्तु न्यूनीकरणका लागि कुनै योजना नभए क्षति भएपछि क्षतिपूर्ति दिने काम भइरहेको छ । 

    पोखरेलले हाल पनि जिल्लाका केही स्थानबाट जनावरले क्षति पु¥याएको भन्दै क्षतिपूर्ति माग्न आएको बताउनुभयो । उहाँले भन्नुभयो, “एक वन–एक घाँसे मैदान र एक पोखरी भन्ने सचेतना अभियानमा लागिरहेका छौँ ।” उहाँका अनुसार वन्यजन्तुको आतङ्क रोक्न प्राकृतिकरुपमा वनमै वन्यजन्तुको आहारको व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिन्छ । कार्यालयका अनुसार बितेको १४ वर्षमा काभ्रेपलाञ्चोकमा जङ्गली जनावरको आक्रमणबाट १४ जनाको मृत्यु र आधा दर्जन घाइते भएका छन् । 
    
    कार्यालयमार्फत मानव मृत्यु तथा घाइते तथा वर्षैंपिच्छे अन्नबाली क्षति, घरपालुवा जनावर तथा पशुपक्षीको क्षतिपूर्ति निर्देशिकाअुसार दिँदै आइएको छ । सरकारको प्रावधानअनुसार मृतकका प्रतिपरिवारलाई रु १५ लाख तथा घाइतेको अवस्था हेरी उपचार खर्च दिइन्छ ।