जेठ ९, २०७८ आइतबार

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फुटबल प्रत्येक दुई वर्षमा गर्ने योजना बनाएको छ । सन् १९३० मा पहिलो पटक पुरुष विधातर्फको विश्वकप फुटबल प्रतियोगिताको सुरुवात भएको थियो । जसमा प्रत्येक ४ वर्षको अन्तरालमा हुँदै आएको छ ।

फिफाले प्रस्तावमाथि सम्भाब्य अध्ययन गर्ने भएको हो । साउदी अरेबिया फुटबल फेडेरेशन साफले फिफाको वार्षिक काङ्ग्रेसमा उक्त प्रस्ताव ल्याएको हो । सम्भाब्य अध्ययनमा छनोट प्रतियोगितासमेत समेटिनेछ । साफका अध्यक्ष यासेल अल मिसेहलले फुटबलको भविष्य अत्यन्त आलोचनात्मक मोडमा पुगेको बताए । फुटबलले सामना गरिरहेको थुप्रै मुद्दा महामारीले गर्दा अझै बढ्दो अवस्थामा छ ।

उनले भने, ‘खेलको स्वरुपमाथि पुनरावलोकन गर्नु जरुरी भएको छ, थोरै तर राष्ट्रिय टोलीको अर्थपूर्ण प्रतियोगिताले खेलाडीको हितसमेत सम्बोधन गर्नेछ र यसले खेल र प्रतियोगिताको मूल्य मान्यता समेत बढाउनेछ ।’ साउदी अरेबियाको उक्त प्रस्तावमा एक सय ६६ राष्ट्रले समर्थन गरेको छ । २२ राष्ट्रले उक्त प्रस्तावको विपक्षमा मतदान गरेको हो ।
त्यस्तै सन् २०२२ मा कतारमा हुने विश्वकपलाई भने कोरोना महामारीले प्रभाव पार्नसक्ने देखिएको छ ।