फागुन १३, २०७७ बिहिबार

 

एजेन्सी :

कप्तान लियोनल मेस्सी चम्किँदा बार्सिलोनाले स्पेनिस ला लिगामा रेलिगेशन जोनको टोली इल्चेमाथि सहज जित निकालेको छ । 

बिहिवार बिहान सम्पन्न खेलमा बार्सिलोनाले आफ्नै घरेलु मैदान क्याप नोउमा इल्चेमाथि ३–० गोलको जित दर्ता गराएको हो ।

बार्सिलोनाको जितमा मेस्सीले दुई गोल गर्दा जोर्डी अल्बाले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४८औँ मिनेटमा मार्टिन ब्रेथवेटको पासमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।

६८औँ मिनेटमा फ्रेन्की डी योङको असिस्टमा दोस्रो गोल गर्दै मेस्सीले बार्सिलोनालाई २–० गोलले अगाडि बढाए । ७३औँ मिनेटमा अल्बाले ब्रेथवेटको पासमा गोल गरेपछि बार्सिलोना ३–० गोलले विजयी भयो ।

उक्त जितसँगै बार्सिलोना शीर्ष तीनमा उक्लिएको छ । उसले २४ खेलमा ५० अङ्क जोडेको छ । इल्चे भने २१ अङ्कसहित १९औँ स्थानमा छ ।