जेठ १०, २०७८ सोमबार

कञ्चनपुर प्रहरीले बेलौरी र दोधारा चाँदनीबाट अवैध सामान र मोटरसाइकल बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएका प्रहरी टोलीले बेलौरी नगरपालिका वडा नम्बर ४ र ६ तथा दोधारा चाँदनी नगरपालिका वडा नम्बर ४ बाट मलखाद, पेय पदार्थ, बिजुलीका सामान र नम्बर प्लेट नभएको रातो रङ्गको अपाची मोटरसाइकल समेत बरामद गरेको हो ।

भारतबाट भन्सार छली अवैध रूपमा ल्याइएका अन्दाजी एक लाख एकहत्तर हजार छ सय सन्ताउन्न मूल्य बराबरका सरसामान र मोटरसाइकललाई बेवारिसे अवस्थामा फेला पारी कानुन बमोजिम बरामद गरिएको कञ्चनपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, बरामद गरिएको मोटरसाइकलसहित सबै सामान आवश्यक कारबाहीका लागि सोमबार भन्सार कार्यालय पठाइएको छ ।