गलेश्वर, ८ वैशाख: अन्नपूर्ण हिमालको आधार शिविर पुगेर बुधबार नारच्याङमा फर्किनुभएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडाअध्यक्ष लोकबहादुर फगामी आफ्नै वडाको जङ्गलमा विश्वकै दुर्लभ ‘लोन्डेसी’ प्रजातिको गुराँस देखेर दङ्ग पर्नुभयो ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको ‘भुस्केट मेला’ जङ्गलमा दुर्लभ जातको ‘लोन्डेसी’ प्रजातिको गुराँस पहिलो पटक देख्दा यसको संरक्षण कसरी गर्ने होला भन्ने कुरा मनमा खेलिरहेको उहाँले बताउनुभयो ।
पाँच वर्षअघि २०७५ सालमा नीलगिरि–अन्नपूर्ण बेस क्याम्प जाने बाटोको जगरघारी, खानी वन र हुमकलाको जङ्गलभन्दा माथिल्लो क्षेत्रमा विश्वमै अत्यन्त दुर्लभ मानिएको ‘लोन्डेसी’ प्रजातिको गुराँस भेटिएको भन्ने कुरा सुन्नुभएका फगामीले अहिले प्रत्यक्ष देखेपछि यसको संरक्षणका लागि गाउँपालिकासँग समन्वय गरेर योजना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बिहीबार साँझ रासस प्रतिनिधिसँगको कुराकानीमा उहाँले भन्नुभयो, “पाँच वर्षअघि नारच्याङमा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनाको वातावरण एकाइले अनुसन्धान गर्दा वातावरणविद् कुलप्रसाद लिम्बू र कमल मादेनले नारच्याङको जङ्गलमा भेटिएको नयाँ प्रजातिको गुराँस ‘लोन्डेसी’ नै भएको पुष्टि गरेका थिए तर त्यतिबेला हामीहरुले पत्याएनौँ र संरक्षणको कुनै प्रयास पनि भएन, अब आगामी आइतबार वा सोमबार विशेष बैठक बोलाएर यसको संरक्षणका लागि आवश्यक योजना बनाउँछौँ ।”
वडाअध्यक्ष फगामीका अनुसार हुमकला सामुदायिक वनभन्दा माथि र अन्नपूर्ण हिमालको आधार शिविरभन्दा तलको क्षेत्रमा यो प्रजातिको गुराँस देखिएको छ । समुद्री सतहदेखि पाँच हजार मिटरभन्दा बढीको उचाइमा मात्र पाइने यो प्रजातिको गुराँस मुस्ताङ, मनाङलगायत उच्च हिमाली भेगका जङ्गलमा पनि नभेटिएको तर त्योभन्दा कमको नारच्याङको जङ्गलमा भेटिएकाले वातावरणविद्समेत आश्चर्यमा परेका वडाअध्यक्ष फगामीको भनाइ थियो ।
उहाँका अनुसार यो गुराँसको बोटको उचाइ करिब पाँच सेन्टिमिटर मात्र हुने गर्छ । पहेँलो र गुलाबी मिश्रण भएजस्तो यसको रङ हुन्छ भने फूल अत्यन्त सानो हुन्छ । नारच्याङको जङ्गलमा भेटिएको यस्तो दुर्लभ प्रजातिको गुराँसको संरक्षणमा वडा कार्यालयले अझै व्यापकरूपमा खोज र अनुसन्धान गरी संरक्षणका उपाय अपनाइन्छ ।
चार वर्षअघि मिस्त्रीखोला जलविद्युत् आयोजनाको वातावरण एकाइमा कार्यरत शिव पुर्जाको पहलमा ‘लोन्डेसी’ संरक्षणको कुरा उठेकामा त्यसपछि वातावरण एकाइ प्रोजेक्ट नै समाप्त भएको र त्यहाँ कार्यरत शिव पुर्जालगायत वातावरण क्षेत्रका जानकारहरु पनि विदेश लागेकाले कुनै पहल हुन नसकेको उहाँले बताउनुभयो ।