जेठ १२, २०७८ बुधबार

बङ्गालको खाडीमा विकास भएको शक्तिशाली चक्रवात यासको प्रभाव नेपालमा देखिन थालेको छ । मंगलवार यो चक्रवातका कारण  नेपालको पूर्वी र मध्यभागमा बदली र केही स्थानमा हावाहुरीसँगै वर्षा भएको छ ।

चक्रवातको असर नेपालमा झण्डै १ हप्ता रहने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् समीर श्रेष्ठले शुक्रवारसम्म बढी असर देखिन सक्ने र त्यसपछि हल्का बदलीको अवस्थामा परिणत भएर चक्रवातको असर मत्थर हुने बताए ।बङ्गालको खाडीमा उत्पत्ति भएको न्यून चापीय प्रणाली विकास हुँदै सोमबार चक्रवातमा परिणत भएको यास अझ धेरै शक्तिशाली हुने क्रममा रहेको छ ।

यास भारतको उडिसाबाट ८०० किलोमिटरभन्दा टाढा बङ्गालको खाडीमा उत्पत्ति भएर उत्तर–पश्चिमतर्फ आइरहेको छ। नेपालका पूर्वी भागबाट उडिसाको दूरी झण्डै २ हजार ५०० किलोमिटर छ । उडिसाबाट जमिनमा प्रवेश गर्ने यो चक्रवातले उडिसा र आसपासको क्षेत्रमा धेरै क्षति गर्ने अनुमान गरिएको छ ।अति धेरै शक्तिशाली यो चक्रवातले १९० देखि २०० किलोमिटर प्रतिघण्टाको गति लिने अनुमान रहेकाले नेपालमा पनि केही असर पार्ने मौसमविद्को अनुमान छ ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार चक्रवात उत्तर–पश्चिम सर्दै बुधवार ‘अति धेरै शक्तिशाली’ बन्ने छ । उडिसामा गम्भीर असर पारेको खण्डमा यो चक्रवातले नेपालमा पनि मेघगर्जन, चट्याङ र हुरीसहित भारी वर्षा गराउने छ । यसको असर नेपालको पूर्वी भागमा बढी हुनेछ ।प्रदेश १ को हिमाली र पहाडी भूभाग तथा बागमती प्रदेशका उच्च भेगमा हिमपात र हल्का वर्षा हुने सम्भावना रहेको छ।

त्यसपछि पूर्वबाट पश्चिम सर्दै जाने क्रममा बुधवार देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुनेछ । वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले  प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा भारी जनाएको छ ।