अर्को महिनाको(जुन महिना)को ९ तारिखबाट विश्वको सबैभन्दा पुरानो टिट्वान्टी क्रिकेट प्रतियोगितामा सन्दिप लामिछाने सुरुवाती खेलमा उपलब्ध नहुने सम्भावना बढेको छ। इंग्ल्याण्डमा हुने यस संस्करणको भाईटिलिटि टिट्वान्टी ब्लास्ट प्रतियोगितामा पहिलो पटक सहभागी हुन लागेका लामिछानेले वरसिस्टसायर ऱ्यापिडमा अनुबन्धित भएका छन्।
"करिब एक महिना अघिबाट बेलायती दुतावासमा भिसाका लागि आवेदन दिए पनि दुतावासबाट कुनै प्रतिक्रिया नआएकोले यसमा सरोकारवालाको ध्यानाकर्षण गर्न चाहान्छु" ग्लोबल स्टारका रुपमा पहिचान स्थापित गराउन सफल लामिछानेले ट्विटमा लेखेका छन्।

गत डिसेम्बर देखि जनवरीमा अस्ट्रेलियामा संचालित बिग बास लिग(बिबिएल)खेले पश्चात पहिलो विदेशी लिग खेल्न लागेका सन्दिपले यो खराब स्थितीमा हर नागरिकलाई खुसी दिलाउने खेलाडीको कार्य रहेकाले यसमा सबैको ध्यान जान जरुरत रहेको उनको ट्विटमा उल्लेख गरेका छन्।
सो प्रतियोगिता पश्चात इंग्ल्याण्डमा नै हुन लागेको पहिलो संस्करणको दि हन्ड्रेडमा सहभागी हुने लामिछाने यस प्रतियोगिता पश्चात सेन्ट किट्स एण्ड नेभिसमा संचालन हुने यस संस्करणको क्यारेविन प्रिमियर लिग(सिपिएल)मा सहभागी हुनेछन्।
सन्दिपको विदेश यात्रामा भिसा समस्या आएको यो पहिलो पटक भने होईन। २०१९ को क्यारेबियन प्रिमियर लिगमा सहभागी हुन अमेरिका हुँदै वेस्टइन्डिज यात्रा गर्नु पर्दा सन्दिपलाई अमेरिकी दुतावासले भिसा दिएको थिएन। भिसा नदिएपछि सन्दिपले ट्वीटरमार्फत अमेरिकी दुतावासलाई भिसा नदिएको भन्दै आश्चर्य प्रकट गरेका थिए।
सन्दिपले भिसा नपाउदा सामाजिक सञ्जालमार्फत धेरै समर्थकहरुले दुतावासलाई दबाब दिएका थिए। दुतावासले सन्दिपलाई व्यक्तिगत रुपमा सम्पर्क गरेर बोलाएपछि समस्या समाधान भएको थियो।