जेठ १२, २०७८ बुधबार

कोरोना महामारीसँग लड्न नेपाललाई चीनले हाइड्रोजन अक्सिजन जेनेरेटर प्रदान गर्ने घोषणा गरेको छ ।

बुधवार नेपालका विभिन्न दलका शीर्ष नेताहरुसँगको भर्चुअल छलफलमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले नेपाललाई सहयोगको घोषणा गरेको हो ।उक्त अनलाइन बैठकमै चिनियाँ चिकित्सकको टोलीले सहभागि नेपाली विज्ञहरुलाई हाइड्रोजन अक्सिजन जेनेरेटर चलाउन शैली सिकाउने भएका छन् ।

भाइरस संक्रमणबाट जोगाउन चीनमा व्यापक रुपमा प्रयोग गरिएको उक्त उपकरणले नेपालमा धेरैले ज्यान जोगाउने आशा लिएका छन् ।चीनले विकास गरेको यो अक्सिजन जेनेरेटर परम्परागत भन्दा भिन्न रहेको र यसको प्रभावकारिता पनि बढी रहेको जनाइएको छ ।

सीपीसीको अन्तर्राष्ट्रिय विभागका उपप्रमुख चेन झोउले अध्यक्षता गरेको अनलाइन छलफलमा सीपीसीका मन्त्री सोङ ताओले की–नोट स्पिच प्रस्तुत गर्नुभएको थियो ।

नेपालमा कोरोनाभाइरस महामारीको पछिल्लो अवस्था र रोकथामका उपायबारे केन्द्रीत भर्चुअल सत्रमा उपप्रधानमन्त्री एवं एमाले महासचिव इश्वर पोखरेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस विदेश विभाग प्रमुख नारायण खड्का, मजदूर किसान पार्टीका अध्यक्ष नारायमान बिजुक्छे, राप्रपा अध्यक्ष पशुपति शमशेर जबरा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले सम्बोधन गर्नुभएको थियो ।

सबै नेताहरुले खोप, अक्सिजन, भेन्टिलेटर, कन्सनट्रटेर, जेनेरेटर लगायतका जरुरी स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा चिनियाँ सरकारलाई धन्यवाद दिनुभयो ।