एजेन्सी । पछिल्लो समय कोरोनाका कारण ठुलो मारमा परेको भारतमा २४ घण्टाभित्र दुई लाख ११ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् ।
भारतमा एकै दिन दुई लाख ११ हजार पाँच सय ५३ जना नयाँ बिरामी फेला परेका हुन् । यो सङ्ख्या विश्वका अन्य मुलुकमा २४ घण्टाभित्र भेटिएका नयाँ बिरामीको भन्दा अत्याधिक धेरै हो ।
भारतमा अन्य मुलुकमा भन्दा दैनिक कोरोना सङ्क्रमित उच्च सङ्ख्यामा थपिने गरेका छन् । भारतमा हालसम्म दुई करोड ७३ लाख ६७ हजार नौ सय ३५ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।
भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक भए पनि त्यहाँ दैनिक थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या भने अरु मुलुकको भन्दा अत्याधिक धेरै हुने गरेको छ । भारतमा २४ घण्टाभित्र तीन हजार आठ सय ४२ सङ्क्रमितको मृत्यु भयो ।
हालसम्म भारतमा कोरोनाका कारण तीन लाख १५ हजार दुई सय ६३ जनाको मृत्यु भइसकेको छ । भारतमा दैनिक भेटिने सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ । मृत्यु हुने सङ्ख्या पनि अघिल्लो दिनको भन्दा कम नै हो ।
हालसम्म सङ्क्रमण पुष्टि भएकामध्ये सङ्क्रमितमध्ये दुई करोड ४६ लाख २६ हजार १४ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । २४ लाख २६ हजार छ सय ५८ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।