एजेन्सी । इटालियन क्लब एसी मिलानका फरवार्ड ज्लाटान इब्राहिमोभिकलाई युरोपियन फुटबल महासङ्घ युइएफएले ५० हजार युरो जरिवाना गरेको छ । उनले जुवा बेट सम्बन्धी कम्पनीमा लगानी गरेको र प्रचार–प्रसार गरेको अभियोगमा जरिवाना गरेको हो । युइएफए अनुशासन समितिले छानबिनमा दोषी देखिएपछि इब्राहिमोभिकलाई कारवाही गरिएको जनाएको छ ।
एसी मिलानका स्ट्राइकर इब्राहिमोभिकमाथि माल्टामा रहेको बेटिङ कम्पनीको १० प्रतिशत सेयर किनेको आरोप छ । बेथहार्डमा रहेको सो कम्पनी चौथो ठूलो बेटिङ खेलाउने संस्था हो । सन् २०१९ मा उसको कर तिरेपछिको आम्दानी मात्र २५।७९ मिलियन पाउन्ड थियो । फुटबलको सर्वोच्च निकाय फिफाको नियमअनुसार कुनै पनि खेलाडीले बेटसम्बन्धी कम्पनीमा संलग्न हुन पाउँदैन । तर सोही नियम तोडेर काम गरेको पाइएपछि इब्राहिमोभिकमाथि युइएफए कारवाही गरिएको हो ।
अनुसन्धानका क्रममा उक्त बेटिङ कम्पनीमा उनको संलग्नता देखिएको थियो । इब्राहिमोभिकको संलग्नता पाइएपछि युइएफएले मिलानलाई पनि २५ हजार युरो जरिवाना गरेको मार्काले जनाएको छ ।