कञ्चनपुर, २२ वैशाख: विकास निर्माणका योजनामा दोहरोपना (डुप्लिकेसन) हँुदा कार्यान्वयनमा समस्या हुने गरेको छ । प्रदेश निर्वाचन क्षेत्रस्तरीय योजना तर्जुमा गोष्ठीका सहभागीहरूले प्रदेश सरकारले योजना निर्माण र सञ्चालन गर्दा स्थानीय तहसँग समन्वय नगर्दा दोहरोपना हँुदै आएको बताउनुभयो ।
शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले प्रदेशका योजना नगरपालिकाको कुन क्षेत्रमा सञ्चालन गरिँदैछन् भन्नेबारे जानकारी नै नदिइने गरिएको बताउनुभयो । “प्रदेश सरकारले सञ्चालन गरेका योजना फरफारक भएपछि वा योजनामा विवाद भएपछि मात्रै थाहा हुने गरेका छन्”, उहाँले भन्नुभयो, “नगरसभाबाट पारित भएका योजनाहरूलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर अगाडि बढाउनुपर्छ, ठूला योजना प्रदेशले र ससाना योजना नगरले सञ्चालन गर्ने व्यवस्था मिलाइए दोहोरोपनाको कार्यलाई न्यूनीकरण गर्न सकिन्छ ।”
स्थानीय तहप्रति उत्तरदायी भएर प्रदेशबाट योजना सञ्चालन हुनुपर्ने उल्लेख गर्दै उहाँले गोजीबाट योजना सञ्चालन हुने परिपाटीको अन्त्य गरिनुपर्ने बताउनुभयो ।
गोष्ठीमा सहभागी वेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले पालिकाको वडास्तरबाट छनोट भएर आएका योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । “नगरपालिकाको साधन स्रोतले नधानेका योजनाहरू प्रदेश सरकारको प्राथमिकतमा पर्नुपर्छ”, उहाँले भन्नुभयो, “आवश्यकताका आधरमा योजना छनोट गरी कार्यान्वयनमा ल्याउनुपर्नेमा पहुँचका भरमा योजना छनोट हुँदा दोहरोपनाको समस्या बढ्दै गएको छ, यसको निराकरणका लागि नगरपालिकासँग माग गरेका योजनालाई महत्त्व दिएर कार्यान्वयनमा ल्याउनुपर्छ ।”
उहाँले गत वर्ष प्रदेश सरकारले पहुँचका भरमा वडा नं ८ मा धेरै योजना आएको चर्चा गर्दै अरू नौ वडामा न्यून बजेट आउँदा विकासका कार्यमा असन्तुलन पैदा भएको बताउनुभयो । जिल्लामा तटबन्ध निर्माण गर्ने धेरै कार्यालय हुँदा योजनामा दोहरोपना बढेर गएको बताउनुभयो । “तटबन्ध निर्माण गर्ने एउटै कार्यालय भए दोहरोपना हुँदैन”, उहाँले भन्नुभयो, “नगरपालिकाबाट सञ्चालन हुने योजनालाई पनि सहजरूपमा सञ्चालन गर्न सकिन्छ ।”
कृष्णपुर नगरपालिकाका उपप्रमुख द्रोपती रानाले प्रदेशबाट सञ्चालन हुने योजना कुनै ठाउँमा तीनचार वटा, कुनैमा एउटा योजना पनि नपर्ने गरेको बताउनुभयो । “नगरपालिकासँग समन्वय गरे दोहोरोपना हुँदैन”, उहाँले भन्नुभयो, “योजनाबारे नगरपालिकालाई पनि जानकारी दिनुपर्छ ।”
सुदूरपश्चिम प्रदेशसभा सदस्य बहादुरसिंह थापाले स्थानीय तहका जनप्रतिनिधिले उठाएका विषयमा सहमत रहेको बताउनुभयो । उहाँले विकास निर्माणका कार्यमा स्थानीय तहसँग सहकार्य गरेर नै जानुपर्ने मान्यता रहेको बताउनुभयो । “जनताको घरदैलोबाट आएका योजनाहरूले प्राथमिकता पाओस् भन्ने चाहना हाम्रो पनि छ”, उहाँले भन्नुभयो, “चुनावका बेला जनतासँग गरेका धेरै वाचा छन्, ती पनि पूरा गर्नै पर्छ ।”
अग्रिम घुस दिएर आएका योजनाबारे प्रदेशभरि चर्चाको विषय बनेको उल्लेख गर्दै उहाँले विगतको सरकारका समयमा भएका विकृतिको अन्त्य गरेर अगाडि बढ्ने बताउनुभयो ।
प्रदेशसभा सदस्य गीताकुमारी चौधरीले स्थानीय तहबाट सिफारिस भएर आएका योजनालाई प्रदेश सरकारले अगाडि बढाउनुपर्ने बताउनुभयो । “बजेटको सीमा घटेर आएको छ”, उहाँले भन्नुभयो, “प्राथमिकताका आधारमा योजना सञ्चालन हुनुपर्छ ।”
गोष्ठीमा वेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूले वडाबाट प्राथमिकीकरणमा परेका विषयगत र वस्तुगत योजनाको प्रस्ताव तयार गरी प्रदेश सरकारलाई बुझाउने तयारीमा रहेको बताउनुभयो ।