बैशाख २६, २०८० मंगलबार

–रञ्जिता अधिकारी
देउखुरी, २६ वैशाख: दाङको घोराहीमा सञ्चालित ‘ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र’ ज्येष्ठ नागरिको दुःखसुख बिसाउने थलो बनेका छन् । घोराही–६ का ९१ वर्षीय चुडामणि पौडेल गाउँमा सञ्चालन भएको दिवासेवा केन्द्रमा दैनिक आउनुहुन्छ । त्यहाँ आफूसँग उमेर मिल्ने साथीसँग भलाकुसारी, सुखदःुख बाँड्न, भजनकीर्तन गर्न, नाच्न गाउन, कथाव्यथा सुन्न, सुनाउन उहाँलाई आनन्द लाग्ने गरेको बताउनुहुन्छ । लट्ठीको सहारामा दिवासेवा केन्द्र पुग्न पाउँदा पौडेल औधी खुसी देखिनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “पढ्न जान्ने र आँखाले साथ दिने साथीले रामायण महाभारतका श्लोेक पढेर सुनाउनुहुन्छ, यो सुन्दा आन्नद आउँछ ।” घरपरिवारका सदस्य दिउँसो काममा व्यस्त हुँदा एक्लै बस्दा पट्यार लाग्ने र समय बिताउन गाह्रो हुने भएकाले केन्द्र पुग्ने पौडलेको भनाइ छ । “यहाँ आउन थालेपछि समय बितेको थाहै नहुँदो रहेछ”, उहाँँले भन्नुभयो ।

घोराही–६ को वडा कार्यालयले शुभलक्ष्मी टोलमा वडाका ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र स्थापना गरेपछि त्यो दैनिक भेटघाटको थलो बनेको हो । घोराही–१५ की भगवता गौतम उमेरले ७१ वसन्त पार गर्नुभयो । अचेल उहाँको दैनिकीमा परिवर्तन आएको छ । घोराही–१५ को उत्साहटोलमा रहेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा नगइ उहाँको मन मान्दैन । गौतमलाई बिहान ११ बजे दिवा सेवा केन्द्रमा पुगिसक्नुपर्छ, त्यहाँ पुगेपछि दःुख पीडा भुल्ने गरेको उहाँँ बताउनुहुन्छ ।

 “आफूसँगैका साथीसँग भेट हुन्छ । धेरै वर्षदेखि भेट् नभएका आफन्त र साथीसँग भेट हुँदा आनन्द आउँछ”, गौतमले भन्नुभयो । वर्षाँैसम्म भेट नभएका साथीसँग भेट हुँदा र भलाकुसारी गर्न पाउँदा उहाँ दङग हुनुहुन्छ । उहाँहरु दिवा सेवामा आएर रमाइलो गर्ने गर्नुहुन्छ । 

उपहानगरपालिकाको सहयोगमा चार वर्ष अघिदेखि सेवा केन्द्र सञ्चालनमा छ । घोराही–१४ का ७६ वर्षीय चित्रकान्त आचार्यलाई एकदिन पनि केन्द्र छुट्ट्याउन मन लाग्दैन “केन्द्रमा पुराना साथी भेट हुन्छन्, आफ्ना दुःखसुख साट्न पाइन्छ, मलाइ त घरमा बस्न मन लाग्दैन”, उहाँँले भन्नुभयो । सो केन्द्रको आचार्य अध्यक्ष हुनुहुन्छ । घरमै बसेका ज्येष्ठ नागरिकलाई केन्द्रसम्म आउन सहजीकरण गरिरहेको उहाँँले बताउनुभयो । 

“आफूजस्तै साथी भेटिएपछि मनका कुरा गर्ने ठाउँमा मन भुल्दो रहेछ, नाचगान गर्दा झनै मज्जा आउँछ”, आचार्यले भन्नुभयो । उहाँका अनुसार २०७४ सालमा केन्द्र स्थापना भएको हो । घोराही उपमहानगरपालिका र १४ नम्बर वडा कार्यालयको सहयोगमा हल निर्माण गरिएको हो । वडाले प्रत्येक वर्ष घोराही नगरपालिकाले चिया नास्ताको व्यवस्था गरेको छ । 

“दैनिक २२÷२५ ज्येष्ठ नागरिक आउनुहुन्छ, यहाँ आउनलाई कसैलाई रोकावट छैन । जम्मा हुनासाथै आरती गाउने, त्यसपछि भजन गाउने, गफ गर्ने र नाचगान गर्ने गरिन्छ”, उहाँले भन्नुभयो । चियाको व्यवस्था पनि केन्द्रमै छ । ज्येष्ठ नागरिकलाई खानेपानी र शौचालयको राम्रो व्यवस्था छ । 

घोराही उपमहानगरपालिकाले पालिकाभित्रका एक देखि १९ वडामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गरेको छ । घरभित्रै सीमित हुन पुगेका ज्येष्ठ नागरिक एकै स्थानमा जम्मा भएर दिन बिताउन सजिलो होस् भनेर केन्द्र स्थापना गरिएका हुन् । घोराही उपमहानगरपालिकाले रु पाँच लाख खर्चेर घोराही–१५ उत्साह टोलमा निर्माण गरेको दिवा सेवा केन्द्रमा दैनिक २५ देखि ३० ज्येष्ठ नागरिक भेला हुने गरेका केन्द्र व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम खनालले बताउनुभयो ।

 “साठी वर्ष नाघेका कुनैपनि ज्येष्ठ नागरिक सेवा केन्द्रमा आउन र दिनभर मन भुलाउन सक्नुहुन्छ । उहाँहरुलाई चिया र बिस्कुटको व्यवस्था नगरपालिकाले गरेको छ”, उहाँले भन्नुभयो । चार वर्षदेखि सञ्चालनमा आएको दिवासेवा केन्द्रमा भजनकीर्तनका लागि मादल, मुरली, खैजडी, मुजुरालगायत बाद्यवादनका सामग्री उपलब्ध छन् । ती सामग्री प्रयोग गरेर ज्येष्ठ नागरिक दैनिक भजनकीर्तन र नाचगान गर्नुहुन्छ । “केन्द्रमा विभिन्न दाताबाट टेलिभिजन र कम्प्युटरको व्यवस्था गरिएको छ”, खनालले भन्नुभयो । 

 विभिन्न किसिमका धार्मिक पुस्तक र दाङबाट दैनिक प्रकाशन हुने पत्रपत्रिका पनि आउने गरेको उहाँँले बताउनुभयो । धार्मिकग्रन्थको पाठ र प्रवचन कार्यक्रम समय तालिका अनुसार गरिन्छ । बिहान ११ देखि बेलुकी ३ बजेसम्म केन्द्रमा ज्येष्ठ नागरिकले समय बिताउनुहुन्छ । उपमानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख मोतीकुमारी विश्वकर्माले १९ वडामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा आएको बताउनुभयो । ज्येष्ठ नागरिक समाजका गहना भएकाले उहाँहरुको स्वास्थ्यलाई मध्यनजर गरेर समय समयमा स्वास्थ्य परीक्षणसमेत गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।