काठमाडौ । नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ७४ करोड रकम बिनियोजन गरिएको छ ।
जसमा सरकारले चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षमा ३८ करोड रुपैयाँ बढाएर २ अर्ब ७४ करोड रकम बिनियोजन गरेको हो । गत वर्ष सरकारले युवा तथा खेलकुद क्षेत्रको लागि २ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको थियो।
आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको बजेटमा समूदाय स्तरबाटै खेलकुदलाई प्रोत्साहन गर्न, पूर्वाधार निर्माण र प्रतिभावान खेलाडीको पहिचान गर्न सरकारले बजेट विनियोजन गरेको जानकारी दिए ।
सरकारले झापामा अन्तर्राष्ट्रिय स्तरको मदन भन्डारी रंगशाला निर्माण गर्न बजेट विनियोजन गरेको छ। त्यस्तै मोरङको वैजनापुर, मुलपानी क्रिकेट रंगशाला, रुपन्देहीको भैरहवा, दाङको लमही, बाँकेको नेपालगञ्ज र कंचनपुरको महेन्द्रनगरमा निर्माणाधिन क्रिकेट रंगशाला सम्पन्न गर्नका लागि बजेट छुट्याइएको छ ।
त्यस्तै पूर्व खेलाडीहरुलाई व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जामा ऋण उपलब्ध गराइने पनि बताइएको छ। त्यस्तै पोखरा रंगशालाको निर्माण कार्य यो आर्थिक वर्षमा सम्पन्न गरिनेछ । हरेक स्थानिय तहमा खेल ग्रामको निर्माण गरिने बजेटमा उल्लेख छ । आगामी आर्थिक वर्षमा १६८ स्थानिय तहमा खेल ग्रामको लागि बजेट छुट्याइएको छ।
यसैगरी देशका पाँच स्थान साेलुखुम्बु, सिन्धुपाल्चाेक, मनाङ, मुस्ताङ र जुम्लामा हाई अल्टिच्यूड स्पोर्टस सेन्टर निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने खेल पर्यटन मार्फत आर्थिक विकासको लक्ष्य पनि लिइएको छ ।
यसैगरी गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पनि बजेट छुट्याइएको छ ।