जेठ ३, २०८० बुधबार

दमौली, ३ जेठ ः तनहुँको व्यास नगरपालिका–९ माँझफाँटकी आसमाया विक नौ महिना पहिला वैदेशिक रोजगारका लागि दुवई पुग्नुभयो । म्यानपावर कम्पनीमार्फत दुबई जानुभएकी उहाँले सम्झौता अनुसारको काम र तलब पाउनुभएन । 

    वैदेशिक रोजगारमा जाँदा आफू ठगिएको महसुस भएको भन्दै विकले दुई महिना अत्यन्तै पीडादायी महसुस भएको बताउनुभयो । विकले भन्नुभयो, “यातना पनि पाएँ, धेरै रोएँ, कहिले घर जाउँ जस्तो भयो । घरपरिवारलाई यसबारेमा जानकारी गराएँ, नेपाल फर्किन्छु जस्तो लाग्न छाड्यो ।” जानेबेलामा एउटा काम भन्यो उता गएपछि त्यो काम भएन, तलब पनि एक हजार दुई सय रियाल भनेकामा नौ सय मात्र दिइएको उहाँको भनाइ छ । 

    घरपरिवारले जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रमा यस विषयमा जानकारी गराएपछि उहाँहरुमार्फत स्वदेश फर्काउन पहल भयो । वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन २०७६ मङ्सिर १ गतेदेखि तनहुँमा सुरक्षित आप्रवासन कार्यक्रम ९सामी० सञ्चालन भइरहेको छ । 

    “सुरक्षित आप्रवासन कार्यक्रममार्फत म्यानपावर कम्पनीमा आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढेपछि म नेपाल फर्किएँ, रु ४० हजार पनि फिर्ता भयो,” विकले भन्नुभयो, “घर फर्किनलाई सामी कार्यक्रमको महत्वपूर्ण भूमिका छ ।” आवश्यक जानकारी र सीप बिना विदेश जाँदा दुःख पाइने भन्दै सामी कार्यक्रमको परामर्शमा मात्रै वैदेशिक रोजगारमा जान उहाँले सुझाव दिनुभयो । 

    तनहुँको व्यास नगरपालिका–८ निवासी अमृता मिश्रका श्रीमान रोजगारीका लागि विदेश जानुभयो । विदेशमा उहाँका श्रीमान् तीनपटक बेहोस भएर ढल्नुभयो । पछि उहाँलाई प्यारालाइसिस भयो । श्रीमान् घर कसरी फर्काउने भन्ने चिन्तामा उहाँमा थियो । जब उहाँले सामी कार्यक्रमका बारेमा जानकारी पाउनुभयो, त्यसपश्चात् जिल्ला प्रशासन कार्यालयमा रहेको स्रोत केन्द्रमा सम्पर्क राख्नुभयो । 

    “घरको आर्थिक अवस्था कमजोर, उहाँलाई फर्काउन हाम्रो अवस्थाले सकिँदैनथ्यो, सामी कार्यक्रमको सहयोगमा उहाँलाई नेपाल ल्याएर उपचार गरायौं,” उहाँले भन्नुभयो, “उपचारकै क्रममा उहाँको गत असोज अन्तिम साता निधन भयो ।” सामी कार्यक्रमकै पहलमा आवश्यक राहतका लागि प्रक्रिया चालेपछि बीमाबापत रु १३ लाख र वैदेशिक रोजगार बोर्डमार्फत रु सात लाख प्राप्त भएको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “श्रीमान् त रहनुभएन तर राहत बापतको उक्त रकमले उहाँको उपचार खर्चमा लागेको रकम तिरेँ, हाल छोराछोरीलाई पनि सोही रकमबाट पढाइरहेको छु ।” सामी कार्यक्रमकै कारण आफूले राहत पाएको उहाँको भनाइ छ ।

    व्यास नगरपालिका–५ का तिलक आले मगरले वैदेशिक रोजगारमा जान बुझाएको रु ५० हजार फसेपछि आप्रवासी स्रोतकेन्द्रमा निवेदन दर्ता गराएर उक्त रकम फिर्ता पाउनुभयो । “पाँच÷छ महिना बित्दा भिसा पनि आएन, पैसा पनि फिर्ता गरिएन, पछि सुरक्षित आप्रवासी केन्द्रबाट पैसा फिर्ता पाउन सफल भएँ,” उहाँले भन्नुभयो । 

    सामी कार्यक्रम सञ्चालन भएपछि वैदेशिक रोजगारमा जाने र रोजगारमा ठगिएका, मृत्यु भएकाले राहत रकम पाउँदा पीडित परिवारलाई सहज हुने गरेको देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरुङ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सामी परियोजनाको प्रभावकारिता बढ्दो छ, यसलाई थप विस्तार गर्न आवश्यक छ ।”

    यी त केही उदाहरण हुन् । तनहुँ जिल्लामासामी कार्यक्रम लागू भएपछि वैदेशिक रोजगारका क्रममा ठगिएका, मृत्यु भएकाहरुलाई राहत बापतको रकम उपलब्ध गराउन सफल भएको कार्यक्रमका जिल्ला संयोजक लुना रानाले जानकारी दिनुभयो । वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका ५१ जनाले चालु आर्थिक वर्षमा क्षतिपूर्ति बापतको रकम पाएका छन् । यस कार्यक्रमको समन्वयमा चालु आर्थिक वर्षमा रु दुई करोड ७१ लाख ९५ हजार पाँच सय ९१ रकम क्षतिपूर्तिबापत प्राप्त गरेको रानाले बताउनुभयो । उहाँका अनुसार जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका एक सय १९ उजुरी दर्ता भएको थियो । त्यसमध्ये ५१ जनाको उजुरी समाधान भएको रानाले जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, “आप्रवासन केन्द्रमा मुद्दा दर्ता भएपछि प्रशासन कार्यालय, प्रहरी कार्यालय, स्थानीय तह लगायतको सहकार्यमा पीडित परिवारलाई क्षतिपूर्ति रकम प्रदान गर्न सफल भएका छाँै,” रानाले भन्नुभयो, “सामी कार्यक्रम जिल्लामा प्रभावकारी बन्दै गएको महशुस भएको छ ।”

    वैदेशिक रोजगारका क्रममा मृत्यु भएका, बेपत्ता भएका, ठगिएका र उद्धार गरिएका पीडितलाई परियोजनाको समन्वयमा क्षतिपूर्ति बापतको रकम प्रदान गरिएको राना बताउनुहुन्छ । वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन विसं २०७६ मङ्सिर १ गतेदेखि जिल्लाका चार र गत वर्षदेखि थप तीन स्थानीय तहमा परियोजना सञ्चालित छ । जिल्लाका व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकामा परियोजना सञ्चालन भइरहेको छ । 

    परियोजनामार्फत विदेश जाने र विदेशबाट फर्किएका युवायुवतीलाई परामर्श सेवा प्रदान गर्ने गरिएको छ । त्यस्तै विदेशबाट फर्किएकाहरुलाई सीपमूलक तालिम दिनाका साथै स्थानीयवासीलाई वित्तीय साक्षरता कक्षासमेत प्रदान गरिएको छ । नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय समझदारीअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहजीकरण र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन भइरहेको वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेश मिश्रले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रम सञ्चालन भएपछि वैदेशिक रोजगारमा जानेहरु सचेत हुन थालेका छन् । कार्यक्रमको प्रभावकारी बढ्दो छ ।”

    जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रबाट चालु आर्थिक वर्षमा छ हजार पाँच सय २९ लाई परामर्श सेवा दिइएको छ । प्रशासन कार्यालयमा राहदानी बनाउन आउने सबैलाई वैदेशिक रोजगारका बारेमा परामर्श दिने गरिएको केन्द्रकी प्रमुख गोमा घिमिरे बताउनुहुन्छ । उहाँले भन्नुभयो, “राहदानी बनाउन आउने सबैलाई सुरक्षित रुपमा विदेश जानुपर्छ भनेर परामर्श दिने गरेका छौँ । यसले गर्दा वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित गराउन सकिन्छ ।” चालु आर्थिक वर्षमा दुई हजार पाँच सयलाई परामर्श दिने लक्ष्य राखिएको थियो ।